शनिबार, वैशाख १३, २०८२

चीनले उपलब्ध गराएको खोपले दुई देशको मैत्री सम्बन्धलाई उजागर गर्‍यो : ओली

नेपालखोज २०७७ चैत १६ गते १६:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् । सोमबार बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् ।

चीनद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने ओलीको भनाइ थियो । उनले भने, ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पु¥याएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी थिइन् । प्रधानमन्त्री ओलीले अनुदान बाहेक खोप किन्ने व्यवस्था गरिरहेको जानकारी दिएका छन् । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए छन् । उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्नेकुरा म स्पष्ट पार्न चाहान्छु ।’

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताए । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लडनका नेपालको साथम चीन सँधै रहेको बताएकी थिइन् ।

प्रतिक्रिया