बिहीबार, असार १९, २०८२

म्यानमारको सैन्य ‘कू’ विरुद्ध नेपालमा प्रदर्शन

नेपालखोज २०७७ चैत १७ गते १५:१४

काठमाडौं । म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधविरुद्ध राष्ट्रसंघ नेपाल कार्यालयअगाडि प्रदर्शन भएको छ । म्यानमारमा जारी हत्या र दमन रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नु पर्ने आग्रह गर्दै मंगलबार मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

यूएन हाउस पुल्चोक अगाडि मंगलबार दिउँसो भएको प्रदर्शनमा म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको छ । सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पछि शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एंन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयमार्फत बुझाइएको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया