मंगलबार, वैशाख १८, २०८१

‘प्रधानमन्त्री पदभन्दा मधेसको एजेन्डा प्रमुख’ (भिडियाेसहित)

सुवास ढकाल २०७७ चैत २५ गते १७:५७

यो साता सर्वाधिक चर्चा र चासोमा परेका व्यक्तित्व हुन्– महन्थ ठाकुर । यसको प्रमुख कारण हो ‘विल बी प्राइमिनिस्टर’ अर्थात् सम्भावित प्रधानमन्त्री । पुरानो गठबन्धनमा विग्रह आउने र दलहरू भत्किने क्रमसँगै नयाँ सरकार वा गठबन्धनको चर्चा अहिले शीर्ष स्थानमा छ र भनिँदै छ त्यसको साँचो जनता समाजवादी पार्टी (जसपा) सँग छ । जसपाले जुन गठबन्धनमा आफ्नो उपस्थिति जनायो उसैको सरकार बन्ने स्थिति छ अहिले । यस्तोमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको व्यस्तता बढ्नु स्वभाविक हो । गएको साताभर उनी पार्टीभित्र र बाहिरका शीर्ष स्तरका अनेकौं बैठक र छलफलमा व्यस्त रहे ।

ठाकुरको यही व्यस्तताबीच नेपालखोजले उनीसँग आफ्ना जिज्ञासा मेट्न भेट गर्‍याे । जसपा पार्टी कार्यालय बबरमहलस्थित कार्यकक्षमा अब तपाईं प्रधानमन्त्री नहुने ? प्रयास गर्नुभएको छैन ? भन्ने प्रश्न खस्न नपाउँदै ठाकुरले भने– ‘यहाँ अरूकै पालो पुगेको छैन मलाई कहाँ दिन्छन् र ?’ मधेसबाट प्रधानमन्त्री दिने त पालो भयो नि भन्ने तर्कमा उनले सुस्केरा छोड्दै भने– यस्तो बेला मधेसलाई कसैले हेर्दैन । सबै आ–आफ्नो दाउ खेलिरहेका छन् । आफू प्रधानमन्त्री हुन नलागेको बताउँदै उनले भने, ‘अहिले मेरो ध्यान सरकार परिवर्तन गर्नेमा छैन । त्यो जरुरी कुरा पनि होइन । म त्यसमा लागेको छैन । मेरो ध्यान त नयाँ गठबन्धनमा मधेसको मुद्दा कसरी सम्बोधन हुन्छ भन्नेमै छ ।’

त्यसो भए के–हो त मधेसको अहिलेको प्रमुख मुद्दा ? नयाँ गठबन्धनका लागि भइरहेको छलफलमा उनले तीनवटा कुरा प्रमुख रूपमा उठाइरहेका छन् । पहिलो संविधान संशोधनको कुरा, जुन मधेसवादी दलहरूले संविधान जारी भएको दिनदेखि नै उठाउँदै आएका हुन् । दोस्रो नागरिकतासम्बन्धी समस्या समाधान अनि तेस्रो जेलमा भएका वा मुद्दा चलाइएका आफ्ना नेता तथा कार्यकर्ताहरूको रिहा तथा मुद्दा फिर्ता ।

यिनै मुद्दालाई लिएर यो साताभर उनले प्रधानमन्त्रीदेखि पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल अनि शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरे । सबैसँग उनको एउटै जिकिर रह्यो– यी विषयमा धेरै छलफल, बहस, सहमति अनि सम्झौताहरू भए । ती सहमति र सम्झौता देउवा, प्रचण्ड र ओलीहरूकै पालामा थुप्रैपटक भएका हुन् तर त्यसको कार्यान्वयन भएन । त्यसैले मैले यसपटक भनेको छु– अब उधारोमा काम हुँदैन मलाई नगद चाहिन्छ । पहिले हाम्रा माग सम्बोधन गर्नुहोस् । त्यसपछि गठबन्धनको सहमति बनाउँला । मन्त्री–प्रधानमन्त्रीको कुरा त त्यसपछि मात्र होला ।

महन्थ अहिले आफ्नै पार्टीभित्रै पनि ती साथीभाइहरूलाई सम्झाइरहेका छन् जो जनताबीच जान सरकारमा सहभागी हुनुपर्छ भन्ने तर्क गर्दै मन्त्री खान हतारिएका छन् । ठाकुर भन्छन्– हामी सरकारमा नगएको त होइन नि, थुप्रैपटक गयौं तर परिणाम हाम्रो पक्षमा आएन । त्यसैले अहिले म हतारिएको छैन । प्रधानमन्त्री ओलीजीले हामीलाई बोलाएर सोेध्नुभयो तपाईंहरू के गर्नुहुन्छ ? मैले उहाँलाई भने– हाम्रा हातगोडा बाँधिएका छन् पहिले त्यसलाई खोल्नुहोस् । हाम्रा मुद्दामा अरूबेला चासो वा चिन्ता लिइँदैन, नयाँ सरकार वा गठबन्धन बनाउने बेलामा मात्र छलफल गरिन्छ । त्यसैले मैले अहिले नै हाम्रो माग सम्बोधन हुनुपर्छ भनेको हुँ । अहिले २–४ बुँदामा सहमति ग¥यो भोलि त्यसको कार्यान्वयन हुँदैन । नयाँ सरकार त बन्छ तर सहमतिको कुरा त्यतिकै सेलाउँछ । मैले ओलीजीलाई भने–पहिले काम गरेर देखाइदिनुहोस्, त्यसपछि हाम्रो सहयोग र समर्थन त त्यसै आइहाल्छ । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पनि आफूले सक्ने जति गर्ने आश्वासन दिएका छन् उनलाई ।

त्यसोभए मुलुकको राजनीति कता बढिरहेको छ त ? ठाकुर भन्छन्– अहिले सबै अलमलमा छन् । यसक्रममा उनले प्रधानमन्त्री ओलीले आफूहरूसँगको भेटमा कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताएको स्मरण गर्दै ठाकुरले भने–ओलीजीले भन्नुभयो ‘अविश्वास प्रस्ताव आयो वा विश्वासको मत लिने स्थिति आयो भने ताजा जनादेशमा जान्छु ।’

अहिले ठाकुरसमक्ष ओलीदेखि प्रचण्ड–नेपाल तथा देउवासम्मले सहकार्यको प्रस्ताव गरिरहेका छन् । किनभने नयाँ सरकार निर्माण वा वर्तमान सरकारको निरन्तरतामा जसपाको भूमिका निर्णायक देखिन्छ । त्यसैले त कांग्रेस, माओवादी तथा एमालेको दुवै पक्षको आवश्यकताको केन्द्र भएका छन्– ठाकुर । ‘ओलीजीले सरकारमा आउनुहोस् वा बाहिरैबाट समर्थन गर्नुहोस् वा कसैलाई समर्थन नदिनुहोस् भन्ने तीन विकल्प दिनुभएको छ । बाहिर चर्चा गरिएजस्तो आठवटा मन्त्रालयको चर्चा भने भएको छैन । प्रधानमन्त्रीले सरकारमा आउनुहोस् मात्र भन्नुभएको छ,’ उनी भन्छन् ।
‘हुँला म अहिले राजनीतिको केन्द्रमा वा निर्णायकका रूपमा हुँला तर मेरो मनमा के कुरा चलिरहेको छ भने सरकार र पदमा त म कांग्रेसमा छँदै पुगिसकेको थिएँ । त्यो सब छाडेर म यहाँ आएँ अनि मधेसको मुद्दालाई केन्द्रमा राखेर काम गर्न थालें । अहिले पनि मुलुकका जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट वञ्चित छन् । संविधानमा त्रुटि छ भन्ने कुरा सबैले मानेका छन् तर त्यसलाई सच्याउन कोही तयार देखिँदैनन् । यो संविधान बनेकै दिन समातिएका हाम्रा साथीहरू अहिले पनि जेलमा हुनुहुन्छ । कतिपयमाथि झुटा मुद्दा, ज्यान मुद्दासम्म लगाइएको छ । यसबीच कति मारिएका पनि छन् । रेशम चौधरीमाथि फेब्रिकेटेड मुद्दा छ । उहाँ सांसद हो, जनप्रतिनिधि हो तर अपराधी बनाइनु भएको छ । यस्तो स्थितिमा कसरी सरकारमा जाने भन्ने प्रश्न गर्दै ठाकुर भन्छन्,‘सरकारमा जानु ठूलो कुरा भएन, मुख्य कुरा हाम्रो मुद्दा हो ।’

‘यसमा प्रचण्डजीले पहिलेदेखि नै हुन्छ भन्नुभएकै हो । यिनै कुरालाई लिएर हामीले ओलीजीलाई बहिष्कार गरकै हो । यसक्रममा कार्यदल पनि बनेको थियो । अहिले पनि मैले प्रचण्डजी, ओलीजीहरूलाई भनेको छु– ती पुराना सहमति, सम्झौता, प्रतिवेदनहरू सँगै बसेर पढौं अनि मात्र अघि बढौं ।’

कुराकानीका क्रममा संसद् अधिवेशनको कुरा पनि उठ्यो । ठाकुरले भने– त्यसबाट केही पनि हुँदैन, यस्तै चलिरहन्छ । सरकारले संसद्मा केही कुरा लगे हो–हल्ला, हंगामा भइहाल्छ, त्यसैले यो अधिवेशनको अन्त्य चाँडै होला तर बजेट नआइ हाउस डिजल्भ हुँदैन । नीति तथा कार्यक्रम फेल भए सरकारले बजेट बनाउन पाउँदैन । त्यस्तो स्थिति उत्पन्न हुँदा पनि संसद् विघटन हुनसक्छ ।

अन्त्यमा फेरि प्रश्न सोधियो– यसपटक मधेसले प्रधानमन्त्री पाउँछ भन्ने कुरामा आशावादी हुने ठाउँ छ त ? ठाकुरले भने– ‘आशावादी त किन नहुनु ? यहाँ मधेसको प्रधानमन्त्री बनाइदिउँ भन्ने भावना पनि केहीमा छ । सांसद भएपछि मन्त्री–प्रधानमन्त्री हुन जो कोही फिट त भइहाल्छ नि । यद्यपि नेपालको राजनीतिमा यो कुरा लागु हुन केही समय अझै लाग्न सक्छ । किनभने यहाँ सबै ठाउँमा एउटा विशेष वर्ग वा समूहको वर्चस्व छ । जबसम्म त्यसले चाहँदैन मधेसले प्रधानमन्त्री पाउन गाह्रो छ तर यहाँको समाजले चाह्यो भने त्यो सम्भव पनि छ ।

प्रतिक्रिया