मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता

झापा । कोभिड–१९को दोस्रो लहर तिब्रगतिमा फैलिरहेको बेला अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए। गत आवको दुई महिना अर्थात् चैत र वैशाखको मात्र भत्ता सरकारले उपलब्ध गराएको थियो ।
अस्पतालले गत आवको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग रु एक करोड २० लाख माग गरेको थियो । सरकारले दुई महिनाको रु ६० लाख मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताए । उनका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् ।
खुला सीमानाका कारण झापामा कोरोना सङ्क्रमणका बिरामी दैनिक बढिरहेका छन् । अस्पतालमा ७५ बेडको छुट्टै कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ । जिल्लामा दैनिक १२ देखि १५ जना कोभिडका सङ्क्रमणका बिरामी भइरहेको डा ठाकुरको भनाइ छ । उनले अस्पतालको बेडमा भने हाल तीन जना मात्र बिरामी रहेको बताए।
प्रतिक्रिया