कतार जान ४८ घण्टाभित्रको पीसीआर चाहिने

काठमाडौं । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट चाहिने भएकाे छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी कतारको दोहास्थित नेपाली दूतावासले जनाएकाे छ ।
अब नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रुका लागि कडा नियम बनाइएको जनाइएको हाे । यी सबै देशबाट जाने यात्रुले अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ ।
यो प्रावधान कतारमा खोप लगाइसकेका व्यक्तिलाई समेत लागू हुने भएको छ । कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपोर्ट हुनुपर्ने जनाइएकाे छ ।
आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपोर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ र यो नियम बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ ।
प्रतिक्रिया