शुक्रबार, पुष ४, २०८२

चन्द्रागिरी अस्पतालमा आइसोलेशन सेन्टर निर्माणको तयारी

नेपालखोज २०७८ वैशाख १९ गते ११:५१

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको राससलाई जानकारी दिए ।

काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था रहेका छन् ।

१५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताउनुभयो । चन्द्रागिरिले कोरोना सङ्क्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य राखेको छ ।

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ । उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो ।

चन्द्रागिरिमा हालसम्म दुई हजार २८३ कोरोना सङ्क्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् ।

हालसम्म कोरोना सङ्क्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया