शुक्रबार, पुष ४, २०८२

एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमायौं : सर्वोच्च

नेपालखोज २०७८ वैशाख २२ गते १४:५५


काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।

बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ ।

” बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।पूर्वमहान्यायाधिवक्तासमेत भएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो ।

प्रतिक्रिया