भज राम राम
तीर्थ श्रेष्ठ
२०७८ वैशाख २५ गते ८:३०

हात्ती लगाऊ आगो लगाऊ अनि भज राम राम
मेरै छातीमाथि बुट बजाऊ अनि भज राम राम
दुख्ने मुटु मेरो छैन देख्ने आँखा तिम्रो छैन
मेरै घरमा धूनी जगाऊ अनि भज राम राम
आफ्नै नङ्ग्रा खियाउँछु धरतीको अंश म त
लगाएको बाली मिल्काऊ अनि भज राम राम
शिरको छानो पूरै खोस्यौ अलिकता मानो खोस्यौ
भएभरको विश्वास भत्काऊ अनि भज राम राम
अपत्यारिलो कथा मेरो आफन्त नै शत्रु भयो
मान्छे होइन राक्षस बन अनि भज राम राम ।
धर्सैधर्साको चक्रव्यूह कविता संग्रहबाट

तीर्थ श्रेष्ठ
तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया