आइतबार, वैशाख १४, २०८२

माता र मातातीर्थ औंसी !

सुरेशप्रसाद शर्मा २०७८ वैशाख २८ गते ८:५८

आमाको महत्त्व परम वैदिक सनातन धर्ममा ठूलो रहेको छ । शास्त्रहरुले ‘मातृदेवो भव’ आमालाई भगवान मान भनेर आमा सबैभन्दा श्रेष्ठ रहेको कुरा प्रमाणित गरेका छन् ।

आमालाई साक्षात देवीको स्वरुप मानिएको छ । जसले नौ महिनासम्म गर्भमा राखेर जन्मदिई त्यसपछि लालन पालन-पोषण गर्नुहुन्छ । आमामा रहेको वात्सल्य गुण (बच्चालाई गरिने माया) कसैमा पनि हुँदैन । अतः माताको तुलना कसैसँग पनि हुन सक्दैन । त्यही भएर भगवान् रामले पनि लंका विजयपछि भन्नुहुन्छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्मदिने माता र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो छ ।

मातालाई एकदिन मात्र होइन सधैं सेवा आदर गर्दा पनि माताको भार तिरेर सकिँदैन। सधैं औपचारिक रुपमा स्मरण गर्न असम्भव भएकाले हिन्दु धर्मावलम्बीले वैशाख महिनाको कृष्णपक्षको औंसीलाई मातातीर्थ औंसीका रुपमा अथवा मातृसम्मान दिवसका रुपमा मनाउने प्रचलन छ । यो दिन बिहान उठेर आमाको पूजा गरी आमालाई मनपर्ने मिष्ठान्न भोजन अर्पण गरी कपडाहरु समर्पण गर्नुपर्दछ ।

यसो गर्दा माताजीको सेवाको म सधैं आभारी र ऋणी छु भन्ने कुरा अभिभूत गराउँछ। जसका माताजीहरु जीवित हुनुहुन्न उहाँहरुले विभिन्न तीर्थस्थलमा गएर माताको मोक्षको कामना गर्दै श्राद्ध, तर्पण, दान आदि गर्दछन् । काठमाडौंमा हुनेहरु मातातीर्थमा गई स्नान गरी तर्पण दान गर्दछन् । यसो गर्नाले मातृ ऋणबाट मुक्त भइन्छ भन्ने विश्वास छ । मातुलेश्वर महादेवको कृपा र आमाको आशीर्वाद सधैं रहने विश्वास गरिन्छ।

मातातीर्थ कुण्ड मर्यादा पुरुषोत्तम भगवान् श्रीराम वनबास जाँदा घुम्दै यस क्षेत्रमा आई त्यहाँका स्थानीय व्यक्तिहरुसँग लडाइँ गरी प्यास लागेर पानी नपाउँदा ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै वाण प्रहारबाट गंगाजी उत्पत्ति भई पानीको कुण्ड वनेको र सीताजीको मूर्तिसम्म कुदिएको भन्ने प्रचलन छ। यही कुण्डलाई मातातीर्थ कुण्ड भनिएको उल्लेख छ। अतः यस्तो पवित्र स्थानमा आमाको स्मरणमा श्राद्ध तर्पण गर्नाले पितृहरुको कल्याण हुन्छ भन्ने विश्वासका साथ मेला पनि लाग्ने गरेको छ । यद्यपि यस वर्ष भने कोरोना महामारीका कारण मातातीर्थमा सर्वसाधारणको उपस्थितिमा रोक लगाइएको छ ।

माताको सेवा स्मरण एकदिन होइन जन्मौंजन्म गर्दा पनि मातृऋणबाट उन्मुक्त हनु गाह्रो भएकाले सधैं माताको निष्काम भावले सेवा गर्न सके र उहाँका उपदेश जीवनमा उतार्न सके मात्र सच्चा मातृभक्त र मातातीर्थ औंसीको स्मरण हुनेछ। अहिले कोभिडको महामारी भएकाले सुरक्षित रहि घरमा माताजीलाई नमन पूजा गर्दै स्मरण गरौं अवश्य नै मातातीर्थ औंसीको फल पूर्ण रुपमा प्राप्त गर्नेछौं ।
जय जननी, जय मातृ दिवस ।

प्रतिक्रिया