सोमबार, वैशाख १५, २०८२

चिकित्सक संघले गुहार्‍यो राष्ट्रपति, भन्यो- महामारीमा सरकार नपन्छियोस्

नेपालखोज २०७८ वैशाख २९ गते १९:०६

नेपाल चिकित्सक संघ | Ratopati

काठमाडौं । नेपाल चिकित्सक संघले सबै दललाई एक ठाउँमा ल्याउन र महामारीविरुद्ध जुट्न अभिभावकको भूमिका निर्वाह गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।

राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्दै कोभिड-१९ को महामारीविरुद्ध एकजुट हुनुपर्ने कुरा बताउँदै संघले राज्य सञ्चालनको जिम्मा लिएकाहरूले आफ्नो जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिएको छ ।

‘महामारीमा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकको जीवनरक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको बताउँदै विज्ञप्‍तिमा भनिएको छ, ‘संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका लागि सम्पूर्ण नागरिकहरूले स्वास्थ्य सैनिकको रुपमा आ-आफ्नो स्थानबाट पहल गर्न आवश्यक छ ।’

संघले मुलुकभर ‘रेड अलर्ट’ घोषणा गर्न तथा सबैले आफ्नो ठाउँबाट समन्वयकारी भूमिका निर्वाह गर्नसमेत अपिल गरेको छ । नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेसागत संघ-संगठनहरू युद्ध मैदानमा होमिएर यो महामारीलाई परास्त गर्नुपर्ने कुरा संघद्वारा आज (बुधबार) जारी विज्ञप्‍तिमा उल्लेख छ ।

प्रतिक्रिया