बुधबार, जेठ १, २०८२

पहिलो दिन ५४ अंकले बढ्यो नेप्से, १० अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ जेठ २ गते १६:००

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५४ दशमलव २१ अंकले बढेर २७ सय ३८ दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६४ अंकले बढेर चार सय ८८ दशमलव १४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १४ कम्पनीको एक लाख १३ हजार ६९ पटकको कारोबारमा दुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव ४३ अंकले बढेर १८ सय १२ दशमलव ६४ अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि ३० दशमलव ७६ अंकले बढेर २७ सय ९ दशमलव ६९ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय ८४ दशमलव २१ अंकले बढेर १४ हजार दुई सय ४२ दशमलव ४७ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि पाँच सय २८ दशमलव ७८ अंकले बढेर १७ हजार नौ सय १५ दशमलव ९९ अंकमा पुगेको छ ।

यीबाहेक विकास बैंक, लघुबित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ८० रुपैयाँमा कारोबार हुँदा युनियन नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव पाँच प्रतिशतले घटेर दुई सय सात रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १६ सय ४३ रुपैयाँ अन्तिम मूल्यमा ८५ करोड २० लाख तीन हजार सात सय ६१ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया