मंगलबार, वैशाख १८, २०८१

पीडित महिलाले बोली फेर्दैमा अनुसन्धान रोकिँदैन

नेपालखोज २०७६ असोज १६ गते ८:५५

१६ असोज, काठमाडौं । संविधानविद्हरुले पूर्व सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नभएकाे बताएका छन् । नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले संसद सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपसँगै पदबाट मुक्त भएकाले पुनः सोही पदमा बहाली हुने सम्भावना नहुने बताएका हुन् ।

महासचिव पौडेलले उक्त प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा घटनाको अनुसन्धान नरोकिने समेत स्पष्ट पारेका थिए । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी कार्यविधि संहिताअनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाइन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको बताए ।

नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले महरा प्रकरणको छानविन प्रक्रिया जारी रहे पनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए घटनाको सत्यतथ्य बाहिर आउन कठिनाइ हुने बताएका थिए । उनले पीडित भनिएकी महिलाले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क राखे ।

यस्तै, कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताए । उनले सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने संवैधानिक व्यवस्थाअनुसार सभामुख पदको निर्वाचन हुनु पर्ने बारेमा चर्चा गरेका थिए । संविधानले फरक दल र फरक लिंगलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उनको दाबी रहेकाे छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया