बुधबार, असार ११, २०८२

‘चुरेको एक डोको पनि माटो निकाल्न दिँदैन, यसमा म प्रतिबद्ध छु’

नेपालखोज २०७८ जेठ २४ गते १२:१७

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे क्षेत्रको एक डोको पनि माटो निकाल्न नदिने प्रतिबद्धता जनाएका छन् । उनले यसमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

‘चुरेको एक डोको माटो पनि निकाल्न दिइँदैन । यसमा म प्रतिबद्ध छु,’ अर्थमन्त्री पौडेलले भने, ‘केही विरोधीहरुले पुराना तस्बिर सामाजिक सन्जालमा राखेर बेकारको हौवा फैलाएका हुन् ।’

उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् । अर्थमन्त्री पौडेलले आफूले प्रस्तुत गरेको बजेटको चौतर्फी समर्थन भएको भन्दै खुसीसमेत व्यक्त गरेका थिए । उनले बजेटमा विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण सुझावहरु पनि आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले कोभिड महामारीबाट आम नेपालीलाई जोगाउन सरकार कटिबद्ध रहेकाले सोहीअनुसार बजेट ल्याइएको दाबी गरे ।

उनले सबै जनताको जीवनरक्षाका लागि सबैलाई नि:शुल्क भ्याक्सिन उपलब्ध गराउने, कोभिड नियन्त्रणमा सघाउन पुर्‍याउने उद्देश्यले बजेट ल्याइएको बताए । बजेटले जनताको जनजीवनसँग जोडिएका र विकास निर्माणलाई महत्त्व दिएर सम्बोधन गरेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘बजेटले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सम्बोधन गरेको छ । स्वास्थ्य उपचारका लागि नेपालीहरु विदेश जानु नपरोस् भने कीर्तिपुरमा अस्पताल र भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारका लागि पूर्वाधार निर्माणमा बजेटले सम्बोधन गरेको छ ।’

स्वास्थ्य क्षेत्र र स्वास्थ्य पूर्वाधारका क्षेत्रमा बजेट केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए । उनले शिक्षा र शैक्षिक पूर्वाधारका क्षेत्रमा अहिलेको बजेट युगान्तकारी रहेको पनि बताए । उनले भने, ‘देशभरका विद्यालय तथा शैक्षिक पूर्वाधार निर्माणको काम तीन वर्षभित्र सम्पन्न गरेर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने गरी राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमहरु बजेटले समेटेको छ ।’

उनले अनुसन्धानको विधामा पनि बजेटले समेटेको बताए । यस्तै उद्योग र औधोगिकरणका क्षेत्र र त्यसको पूर्वाधारहरुको कामलाई पनि बजेटले अघि बढाएको बताए । उनले कृषि र सिँचाइको क्षेत्रमा पनि बजेटले सम्बोधन गरेको बताए ।

अर्थमन्त्री पौडेलले बजेटले सम्बोधन गरेका विषयका बारेमा जानकारी दिएका थिए । उनले तराई-मधेसमा सिँचाइका आयोजनाहरु अघि बढाउने र निर्माणाधीन सिँचाइ आयोजनाको निर्माण पूरा गर्नका लागि बजेटले सम्बोधन गरेको जानकारी दिए । उनले रासायनिक मल अनुदानमा विस्तार गरेको पनि जानकारी दिए । उनले रासायनिक मल कारखानाको स्थापनालाई समेत अघि बढाउने गरी बजेट आएको बताए ।

कार्यक्रममा पूर्वअर्थसचिव शान्तराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, आर्थिक क्षेत्रमा संलग्न पत्रकारलगायत ७० जनाभन्दा बढीको उपस्थिति थियो ।

प्रतिक्रिया