शुक्रबार, वैशाख १४, २०८१

दशैँ लक्षित नयाँ नोट असोज १० गतेदेखि वितरण हुने

नेपालखोज २०७६ असोज ३ गते १५:४९

३ असोज, काठमाडौँ । निधारमा रातो टिका, कानमा जमरा लाउँदाको खुशी ! यति मात्र कहाँ होर ठुलावडाले दक्षिणामा दिएका हातमा टलक्क टल्केका नयाँ नयाँ रुपैयाँका नोटहरु अर्थात वडा दशैँ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैंको अवसरमा हुने गर्छ । हाम्रो घरदैलोमा दशैँको आगमन हुन अब केही दिन मात्र बाँकी छ । त्यसैले त गाउँ, सहर सबैतिर नयाँ नोटका बारेमा चासो हुन थालेको छ ।        चाड—पर्वको उल्लासलाई थप उज्यालो बनाउने नयाँ नोट प्राप्तिको नागरिक अपेक्षालाई पुरा गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नै नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दशैं पर्वमा खासगरी साना दरका नयाँ नोटको माग उच्च हुने गरेकाले यस्ता नोट विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । प्रवक्ता निरौलाका अनुसार मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा पनि चाडपर्वलाई केन्द्रित गरी नयाँ नोट साट्न पाइने छ । बैंकले पाँच, दश, २०, ५० र १०० रुपैयाँ दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय का दरले नयाँ सटही सुविधा उपलब्ध गराईने छ ।

यस रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमित मात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैकले सर्वाजनिक गरेको सूचनामा उल्लेख छ ।

नोटमा केरमेट नगर्न आग्रह

केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ । त्यस्ता नोट चलन चल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न आग्रह गरेको छ । यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरी दुरुपयोग गर्ने, गराउने माथि प्रचलित कानून बमोजिम कारवाही हुने भन्दै बैंकले सबैलाई त्यस्तो कार्य नगर्न नगराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया