शनिबार, वैशाख १५, २०८१

आर्थिक वर्षको सुरुवातमै व्यापार घाटा ९७ अर्ब भन्दा बढी

नेपालखोज २०७६ असोज ९ गते १४:०४

९ असोज २०७६, काठमाडौँ । सरकारलाई चालू आर्थिक वर्षको पहिलो महिनामा नै ठुलो रकमको व्यापार घाटा भएको छ । आयात घटेर निर्यात बढेपछि सरकारले चालू आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्ममा मात्रै पनि ९७ अर्ब ८९ करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

यो अवधिमा निर्यात आयात अनुपात भने ८.३ कायम भएको छ । एक महिनामा एक खर्ब ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा ५४.३ प्रतिशतले बढेको आयात यो वर्ष ११.५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

कुल वस्तु निर्यात २७.७ प्रतिशतले बढेर एक महिनामै आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३.२ प्रतिशतले बढेर छ अर्ब ९२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको थियो ।

चिनसँग व्यापार सम्बन्ध बढ्दो

आयात र निर्यात दुवै हिसाबले चीनतर्फको नेपालको व्यापारको वृद्धिदर भारतसँगको तुलनामा बढी रहेको छ । भारतबाट नेपाल आयात हुने वस्तु घट्दै गर्दा चीनबाट आउने वस्तु भने बढ्न थालेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा हेर्दा भारतबाट हुने आयात ४.५ प्रतिशतले घट्दा चीनबाट भएको आयात भने २४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । निर्यात दुवैतर्फ बढेको छ, तर चीनतर्फको निर्यात भारततर्फको तुलनामा बढी छ । गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

प्रतिक्रिया