बिहीबार, चैत १५, २०८०

यस्तो बन्दै छ एक अर्ब २० करोडमा  प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास भवन

नेपालखोज २०७६ असोज १३ गते १७:०७

१३ असोज २०७६, काठमाडौँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले लोककल्याणकारी काममा सरकार सधै अघि रहेको बताएका छन् ।

सोमबार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले सरकार विकासको गतिकालागि सधै तत्पर रहेको भन्दै केही तत्वहरुले त्यसलाई भंग गर्ने कसरत गरिरहेको बताए ।

उनले भने, ‘ केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि हट्नेवाला छैन । हरेक दिन नेपाल एक कदम अगाडि बढेको छ । विकास निर्माण र लाकेकल्याणकारीका क्षेत्रमा यो सरकारले फड्को मार्छ । ’ प्रधानमन्त्री ओलीले अगाडी थपे , ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाईन सुरुवात भइसकेको छ । मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भयो तर अब बर्षदिन नाघ्दैन । केही महिनाभित्र मेलम्चीको पानी आउँछ ।’

उनले सरकारले केही पनि गरेन र भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी पनि गरे । ‘कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देश विकासको अभियान र विकास निर्माणका अनेक क्षेत्रजस्तै यातायात, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारले काम गरिरहेको भन्दै रोजगारी, जेष्ठ नागरिक बीमा, बैङ्क खाता जस्ता अभियान सञ्चालन गरेर सरकारले जनताका आवश्यक्ता सम्बोधन गर्दै आएको बताए ।

‘प्रधानमन्त्री निवास ओलीका लागि होइन भोलिका लागि बनाएको हो,’ आफूले भन्ने गरेको भन्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास काठमाडौँमा पनि आवाश्यक पर्ने भएकाले भवन बनाउन लागिएको स्पष्ट पारे ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले संघीय सरकार र संसदसँग निरन्तर संवाद गर्नुपर्ने भएकाले आवास भवन बनाउन लागिएको भन्दै सकेसम्म छिट्टै निर्माण कार्य सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।

यस्तो बन्दै छ प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको बताए ।

उनले २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको बताए । एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइनेछ ।

अत्यधुनिक भवन तीन तलाका हुनेछन् । जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने छ ।

प्रतिक्रिया