शुक्रबार, चैत १६, २०८०

महरालाई कारबाही गर्दै नेकपा

नेपालखोज २०७६ असोज १६ गते १०:३३

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ ।

बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । मंगलबार बसेको सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन सुझाव दिए पनि महराले सभामुख पदबाट घुमाउरो शैलीमा राजीनामा बुझाएका थिए ।

नेकपा एक सचिवालय सदस्यका अनुसार बैठकले दिएको सुझाव कार्यान्वयन नगरेकाले अब संसदीय दलको बैठकमा उनलाई नबोलाइने बताए । संविधानको कुन धाराअनुसार राजीनामा गरेको भन्ने कुरासमेत आफ्नो राजीनामा पत्रमा उल्लेख नगरेको र पार्टीले दिएको सुझावसमेत नमानेकाले पार्टीले आवश्यक कारबाही प्रक्रियाअघि बढाउने नेकपा स्रोतले जनाएको छ ।

पार्टीले दिएको सुझावअनुसार राजीनामा नदिएकाले अब पार्टीले उनले अनुशासनको कारबाही गर्ने स्रोतको दाबी छ । पार्टीले दिएको सुझाव कार्यान्वयन नगरी अनुशासन उल्लंघन गरेका महरालाई सांसद पदबाट समेत पार्टीले कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ ।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत हटाउने तयारी नेकपाले गरेको छ । ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनै पनि सदस्यलाई दलबाट निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ । यसरी निष्कासन महराको सांसद पद स्वतः रिक्त हुनेछ । यो समाचार अाजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया