महरा काण्डपछि रोशनीका श्रीमान-श्रीमतीको सम्बन्ध विच्छेद !
असोज १६ बिहीबार काठमाडाैं। सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।
महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेकी रोशनीले भोलिपल्टै बोली फेरेकी थिइन् । उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत इन्कार गरेकी छन् । घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् ।
सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । पत्रमा ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’ लेखिएको छ । उक्त पत्रमा, आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर पनि गरेका छन् ।
पत्रमा असन्तुष्टिको कारण नखुलाइए पनि महरा प्रकरणकै कारण हुनसक्ने अनुमान गरिएको छ । यही घटनाले ठुलो चर्चा पाएपछि सभामुख महराले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया