बिहीबार, वैशाख १३, २०८१

चितवनमा उपनिर्वाचन : कांग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस

नेपालखोज २०७६ असोज २७ गते १५:१५

२७ असोज २०७६, भरतपुर । नेपाली कांग्रेस चितवनले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् ।

यस्तै, सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्व। वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ । यी दुवै वडामा कांग्रेसले विजयी हासिल गरेको थियो ।

केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्कनेक्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नम्बर–४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

यस्तै, कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ ।

केही महिनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्व. गुरुङ तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको  हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनओटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकाले सोही नामहरु अनुमोदन हुने बताए ।

उनले भने–‘वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै कांग्रेसले उम्मेदवार बनाउँछ ।’

सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए ।

जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि कांग्रेसले जित हासिल गरेकाले त्यहाँ पुनः जित निश्चितजस्तै रहेको दाबी गरे । उनले कांग्रेसको मुख्य ध्यान भरतपुर–१६ माकेन्द्रित रहेको बताए । उनले भने–‘खैरहनीमा हाम्रो जित निश्चितजस्तै हो । भरतपुर–१६ मा जित हासिल गर्ने गरी तयारी गरिरहेका छौं ।’ निर्वाचन आयोगले करिब दुई वर्षपछि उपनिर्वाचनको तयारी गरेको हो ।

प्रतिक्रिया