बुधबार, माघ ७, २०७७

नैतिक शिक्षामा बढावा स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका

नेपालखोज २०७६ फागुन ८ गते ११:५२

नैतिक शिक्षामा बढावा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिकसत्र विसं २०७७ देखि नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ ।

पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ ।

नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्यमान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकामा ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ विद्यालय छन् । ती विद्यालयमा एकैसाथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक, समाजसेवी र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।

नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारका लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदानप्रदान भई सकारात्मक प्रतिस्पर्धा बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताउनुभयो ।

प्रतिक्रिया