बिहीबार, कार्तिक १३, २०७७

भाडा बेचेर चाडपर्वको खर्च जुटाउँदै कुमाल

नेपालखोज २०७६ असोज २८ गते १२:१४

मंगलबार २८ असोज २०७६, महोत्तरी । दशैँपर्व कसैगरी टारेका महोत्तरी जिल्लाका कुमाल (माटाका भाडा बनाउने जाति समुदाय विशेष) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । लगातार परेका मुख्य चाडवाडको खर्च जुटाउन कुमालेको व्यस्तता अहिले बढेको छ ।

चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दशैँ सकेलगत्तै कुमाल माटाका भाडा बनाउन दिनरात नभनी जुटेका छन् । दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाइको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“दशैँमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दशैँ टारियो”, जिल्लाको भङ्गाहा नगरपालिका–५ भुचक्रपुर कुमाले टोलका सीताराम पण्डित कुमालले भने, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ ।” दशैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको थप भनाइ छ ।

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदोछ । दीपावली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउन पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाडाको कारोवार बढ्ने गरेको छ । यसै परम्पराको अवसरमा दीपावली र छठअघि माटाका भाडाको बजार जम्ने गरेका कुमाल बताउँछन् ।

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले महोत्तरीका सबैजसो गाउँ-नगर बस्तीका हटियामा माटाका भाडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हटिया (सातामा अमुक-अमुक दिन लाग्ने बजार) बाहेक नगर-गाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाडाको बजार लगाउन शुरु गरिसकेका बर्दिवास उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विजयकुमार महतोले बताए । मिथिला क्षेत्रमा माटाका नयाँ भाडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको हो ।

कुमाल जाति दशैँ सकेर दीपावली, छठअघिको समयलाई किसानको मुख्य फसल धान थन्क्याउने मङ्सिरसँग तुलना गर्ने गर्छन् । भाडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दशैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आफूहरुको उपयुक्त अवसर भएको जिल्लाकै लोहारपट्टी नगरपालिकाको पिपराढी बस्तीको कुमाल टोलका रामसागर पण्डित कुमालले बताए ।

माटाका भाडावर्तनको बिक्रीका लागि दीपावली र छठपर्वपूर्व उपयुक्त बेला हुने गरेको छ । विगतमा (केही दशकअघिसम्म) घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र दीपावली र छठमा यसको माग हुने गरेको कुमालहरु बताउँछन् ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाडाहरु दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लाष्टिकका भाडाको प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको उनीहरुको भनाइ छ । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको जिल्लाकै मनराशिशवा नगरपालिकाको सहसराम बस्तीका रामशोभित पण्डितले बताए ।

तिहार र छठपर्वका अवसरमा महोत्तरीमा मात्र पनि १० लाखभन्दा बढीको माटाका भाडाको कारोवार हुने महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ । यसपालि दशैँ सकिएलगत्तै जमेको माटाका भाडाको बजार छठसम्म रहने भएकाले र मूल्यवृद्धिसमेत भएकाले यो पर्वभित्र रु १५ लाखभन्दा बढीको कारोवार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताए ।

जिल्लाको लोहारपट्टी, भङ्गाहा र मनराशिशवा नगरपालिकाका केही बस्तीमा छुट्टै कुमाल टोल भएर सघन बसोवास रहेको यो जाति छिटपुटरूपमा भने जिल्लाभरि नै छरिएर बसेका छन् । दीपावली र छठअघि यिनीहरु आफ्नो पुख्र्यौली पेशाको बिडो थाम्दै जिल्लाका सबैजसो गाउँ-नगर बस्तीका घरघरैजसो आफ्ना भाडाको प्रचार, प्रवद्र्धन र बिक्रीमा जुट्ने गरेका छन् ।

प्रतिक्रिया