बिहीबार, वैशाख १३, २०८१

महरा प्रकरण : म्याद थप गर्न महरालाई जिल्ला अदालत लगियो, डिएनए परिक्षणको यस्तो छ तयारी

नेपालखोज २०७६ असोज २८ गते ११:३०

२८ असोज २०७६, काठमाडौँ । सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज म्याद थप गरिँदै छ । अनुसन्धान कार्य जारी रहेकाले म्याद थप गर्न प्रहरीले उनलाइ जिल्ला अदालत काठमाडौँमा लगिएको छ ।

महरा बिरामी भएको भन्दै हिरासतभन्दा पनि अस्पतालमै बस्दै आएका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार समेत सँगै भइरहेको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी उद्योगको आरोप खेपिरहेका महराको बयान लिने क्रम जारी छ । उनलाई अनुसन्धानका प्रहरीले हिरासतमा राखेको थियो । पहिलोपटकको म्याद मंगलबार सकिने भएकोले उनको हिरासत म्याद थप गर्न आज अदालत लगिएको हो । अनुसन्धान नसकिएसम्म बढीमा २५ दिन हिरासतमा राख्न मिल्ने व्यवस्था छ ।

उनीमाथि आरोप लगाउने रोशनी शाहीले भने बयान फेरिरहेकी छन् । महरा र शाहीको फरेन्सिक परीक्षण पनि भइसकेको छ प्रहरीले जनाएको छ । तर दुवैको प्रतिवेदन आइसकेको छैन । त्यसपछि अनुसन्धानले गति लिने बताइएको छ ।

महरालाई प्रहरीले यही असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । १८ गते शाहीले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्, घटना भने असोज १२ गते साँझ तीनकुनेस्थित शाहीको डेरामै भएको बाहिर आएको थियो ।

म्याद थपेर पनि अनुसन्धान कार्य सकेपछि प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँछ । त्यसपछि मात्रै महराको अदालतमा बयान र थुनछेक बहस सुरू हुनेछ ।

डिएनए परिक्षण

महराको डीएनए परीक्षण हुने भएको छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको होरहोइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको बताईएको छ। स्रोतका अनुसार प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको छ ।

संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा ती सबुत देखाइएको थियो । आफू सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ‘चस्मा वा जुत्ताको जिब्रीमा अभियुक्तको पसिना हुन सक्ने भएकाले डीएनए परीक्षण गरेर दाँज्न खोजिएको हो ।

जबरजस्ती करणी उद्योगको कसूर पुष्टि हुन दुई वटा विषय सबैभन्दा महत्वपूर्ण हुन्छ । पहिलो, अभियुक्त घटनास्थलमा पुगेको देखिनुपर्छ । यो विषय प्रहरीले सीसी टीभी फुटेजको विश्लेषणबाट पुष्टि गरिसकेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार महराको गाडी १२ असोजमा साँझ ७ बजेतिर महिलाको घर छेऊ रोकिएको देखिन्छ । यद्यपि, सीसी टीभी फुटेज स्पष्ट भने छैन ।

त्यहाँबाट पानै ९ बजे महरा सवार गाडी फर्किएको देखिन्छ । त्यसबीचको दुई घन्टाको अवधिमा महिला र महरा मात्रै कोठाभित्र रहेको प्रहरीको भनाइ छ । प्रहरीमा खबर भएपछि गएको बानेश्वर वृत्तको टोलीले घरको माथिल्लो तलामा रहेको वृद्ध महिलालाई पनि भेटेको थियो । तर, ढिला पुगेका कारण महरा निस्किसकेको बताइएको छ ।

महरासँगै गएका अंगरक्षकले पनि उनी घटनास्थलमा पुगेको अनौपचारिक बयान दिइसकेका छन् । सरकारी वकिलसामू औपचारिक बयान हुनेछ । महरामाथि लागेको अभियोग पुष्टि गर्न अनुसन्धान अधिकृतसामू अर्को जिम्मेवारी शारीरिक आक्रमण खुल्ने सबुत संकलन गर्नु पनि हो । अधिकांश बलात्कार प्रयासका घटनामा पीडितको कपडा च्यातिएको देखिन्छ । तर, यो घटनामा त्यस्तो छैन ।

बरु दुवै पक्षलाई चोट लागेको देखिएको स्रोतले बताएको छ। प्रहरीले अस्पतालमा गराएको स्वास्थ्य परीक्षणले पनि पीडितको शरीरमा चोटपटक भएको देखाइसकेको छ । यस्तो अवस्थामा कि त अन्य व्यक्ति पनि भित्र प्रवेश गरेको खुल्नु पर्छ । नभए महराकै कारण चोटपटक लागेको पुष्टि हुन्छ ।

प्रतिक्रिया