शनिबार, वैशाख १३, २०८२

१२ वर्ष किन लाग्यो कुलेखानी तेस्रो सम्पन्न गर्न ?

नेपालखोज २०७६ असोज २९ गते १६:२७

२९ असोज, काठमाडौँ । १४ मेगावाटको जलाशययुक्त कुलेखानी तेस्रोको निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको १२ वर्षपछि बल्ल यो आयोजना सम्पन्न भएको हो ।

निर्माण सम्पन्न पश्चात अहिले यही असोज १५ गते देखि आयोजनालाई राष्ट्रिय ग्रिडमा जोडेर परीक्षण जारी राखिएको छ । परिक्षण कार्य केही समय जारी रहने छ ।

दैनिक केही घण्टा चलाएर आयोजनाका दुवै युनिट पालैपालो परीक्षण गर्ने गरिएको आयोजना प्रमुख सुभाष मिश्रले जानकारी दिए । एनका अनुसार कुलेखानी पहिलो र दोस्रो सञ्चालन भए मात्रै तेस्रोको परीक्षण गर्न मिल्छ । परीक्षणका क्रममा आयोजनामा प्रयोग भएको मेसिनरी पुर्जाहरूको कार्यसम्पादन निरीक्षण भइरहेको छ ।

जलाशययुक्त आयोजना भएकाले कुलेखानीलाई विद्युत्को उच्च माग भएको अवस्थामा मात्रै सञ्चालन गरिन्छ । केही दिनअघि परीक्षण गरेपछि कुलेखानी तेस्रोलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी छ ।

इलेक्ट्रो मेकानिकल कामको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन । ठेकेदार कम्पनीले काममा ढिला सुस्ती गरेपछि प्राधिकरणले आफ्ना प्राविधिकलाई पनि काममा लगाएको थियो ।

२०६८ मा सम्पन्न गर्ने लक्ष्यसहित २०६४ चैतदेखि आयोजना निर्माणको काम सुरु भएको थियो । आयोजना निर्माणको लागि दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार आयोजनाको सिभिल संरचनाको निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको थियो भने इलेक्ट्रो मेकानिलतर्फको कामको जिम्मा जियालिङले पाएको हो ।

आयोजनामा भएको ढिलाइका कारण आयोजनाको लागतसमेत दोब्बर बनेको छ । निर्माण सुरु गर्ने बेला आयोजनाको कुल लागत २ अर्ब ४३ करोड लाग्ने अनुमान गरिएको थियो ।

तर, अहिले लागत बढेर ४ अर्ब ६३ करोड पुगेको छ । आयोजनाले वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ । निर्माण सुरु भएयता आयोजनाको म्याद चार पटक थपिएको छ ।

राष्ट्रिय योजना आयोगले ५ वर्षअघि नै कुलेखानी तेस्रोलाई समस्याग्रस्त आयोजना घोषणा गरेको थियो । आयोजनाको अन्तिम समयमा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि कुलेखानी तेस्रो प्राधिकरणका लागि टाउको दुखाइ बन्दै आएको थियो ।

प्रतिक्रिया