बिहीबार, चैत १५, २०८०

‘जनयुद्ध’का पुरानै रुट प्रयोग गर्दै विप्लवका कार्यकर्ता

नेपालखोज २०७६ कार्तिक ५ गते ७:५१

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ ।

प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया