शुक्रबार, चैत १६, २०८०

जलविद्युत क्षेत्रमा सवैभन्दा ठूलो वैदेशिक लगानी सम्झौता आज हुने

नेपालखोज २०७६ कार्तिक १५ गते ९:१८

१५ कार्तिक, काठमाडौं । नेपाली जलविद्युत क्षेत्रको आयोजनाहरुमा सवैभन्दा ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुने भएको छ । हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुङ्गो लागेको छ । आयोजना प्रर्वद्धक वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋणको टुङ्गो लागेको हो । ३० प्रतिशत स्वपुँजी कम्पनीले लगानी गर्नेछ ।

जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि शुक्रबार नौ अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग कम्पनीले सम्झौता गर्दैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुन लागेको हो । निर्माण अवधिसम्मको ब्याजसमेत गरी कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको प्रवद्र्धक कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले जानकारी दिएका छन् ।

“जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो वैदेशिक लगानी आउने गरी हामीले आज शुक्रबार लगानीकर्तासँग सम्झौता गर्दैछौँ”, अधिकारीले भने “सम्झौतालगत्तै लगानी स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा आवेदन गर्नेछौँ । ”
राष्ट्र बैङ्कले यसअघि तल्लो सोलु जलविद्युत् आयोजनाका लागि स्वीकृति दिन करिब एक वर्ष लगाएको थियो । तर पछिल्लो समय वैदेशिक लगानी आकर्षणका लागि गरिएका कानुनी सहजता र कार्य अनुभवका आधारमा तीन महिनाभित्र स्वीकृति पाउने अपेक्षा अधिकारीको छ । ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को नेतृत्वमा एसियाली विकास बैङ्क (एडीबी), एसियाली पूर्वाधार विकास बैङ्क (एआईआईबी)ले लगानी गर्ने निश्चित भएको छ ।

त्यस्तै एक्जिम बैङ्क कोरिया, कोरियाली विकास बैङ्क, कमन वेल्थ, नेदरल्यान्ड डिभेलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ), फ्रेन्च डिभेलपमेन्ट फाइनान्सियल इन्स्टिच्युट र तेल उत्पादकहरूको संस्था ओपेक फन्डको पनि ऋण लगानी हुने निश्चित भएको हो ।
रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना बन्न लागेको हो । आयोजना स्थलमा अहिले पहुँच मार्ग र साइट अफिस बनाउने काम जारी छ । जलप्रवाहमा आधारित सो आयोजना निर्माणका लागि हाकु त्रिशूली नदीमा बाँध बाँधी सुरुङबाट पानी पठाइनेछ । भूमिगत विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानी सुरु टनेलबाट मैलुङमा त्रिशूलीमै पठाइनेछ ।

वार्षिक एक हजार ५०१ गिगावाट आवर विद्युत् उत्पादन लक्ष्य राखिएको सो आयोजनामा ७२ मेगावाट क्षमताका तीनवटा युनिट रहनेछन् । साढे ६ मिटर ब्यासको नौ हजार ७१६ मिटरको हेडरेस सुरुङ बन्नेछ । टेलरेस सुरुङ भने २३८ मिटरको हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्पmत १० किलोमिटर टाढा रहेको त्रिशूली थ्री बी हब सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माणको अवधि पाँच वर्ष रहेको छ ।

प्रतिक्रिया