बुधबार, वैशाख १२, २०८१

योजना बनेको २२ वर्ष पछि शिलान्यास हुँदै बहुप्राविधिक महाविद्यालय

नेपालखोज २०७६ कार्तिक १५ गते १६:५४

१५ कार्तिक, काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशकभन्दा बढी अवधिसम्म पनि निर्माण हुन नसकेकोे नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको यही कात्तिक १९ गते शिलान्यास हुने भएको छ ।

विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको शुरुआती पहलकर्ता तत्कालीन नगरप्रमुख अर्थात् प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नै शिलान्यास गरे ।

महाविद्यालय निर्माणको प्रयास थालेको १२ वर्षपछि माधवकुमार नेपाल सरकारको पालामा विसं २०६६ फागुन ४ गते तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो तर पनि काम भने अगाडि बढ्न सकेको थिएन ।

सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको यही कात्तिक १९ गते मङ्गलबार शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बहुप्रतिक्षित र देशको आवश्यकताको परिपूर्ति हुनेगरी निर्माण हुन लागेको तथा मुख्यमन्त्री पौडेलकै पहल र सक्रियतामा निर्माण हुन लागेकाले शिलान्यास कार्यक्रम विशेष हुने मुख्यमन्त्री पौडेललका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री डोरमणि पौडेल हेटौँडा नगरपालिकाको प्रमुख हुँदाको योजना २२ वर्षपछि पूरा हुने दिशातर्फ गएको हो ।

महाविद्यालयमा भारतीय अनुदानको रु ६४ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कशपप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । भारतीय निर्माण कम्पनी टिसिएनआइ र नेपालको आरोग्य कन्ट्रक्सन कम्पनीद्वारा संयुक्तरुपमा निर्माणकार्य अगाडि बढाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा जमीनमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया