बिहीबार, वैशाख १३, २०८१

मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा आधा काम सकियो

नेपालखोज २०७६ कार्तिक १६ गते १३:१७

१६ कार्तिक, काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ । बाग्लुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म सात सय किलोमिटरमा ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनीयर तुलाराम शर्माले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछाममा निर्माण कार्य भइरहेको जानकारी दिए । उनका अनुसार दैलेख खण्डमा पर्ने १२६ मध्ये ४० किमी टेन्डर हुन बाँकी छ । स्थानीयवासीको असहयोगका कारण दैलेख सदरमुकाम क्षेत्रमा ३० किमी र दैलेख–जाजरकोट सीमा क्षेत्रमा १० किमीमा ट्र्याक खोलिएको सडकमा निर्माण कार्य अघि बढ्न सकेको छैन् ।

“ट्र्याक ओपन भएको उक्त क्षेत्रको डिपिआर पनि भइसकेको छ, टेन्डर हुन मात्रै बाँकी हो,” उनले भने, “अहिले स्थानीयवासीको अवरोध छैन्, सदरमुकामको काँडाचौर क्षेत्रबाटै हाइवे जान दिन स्थानीयवासी तयार भइसकेका छन् ।” ग्राभेल, नाली तथा पुल निर्माण भइसकेका क्षेत्रमा यसै वर्षभित्र कालोपत्र गर्ने आयोजनाको तयारी छ । रुकुम पश्चिममा १२ किमी टेन्डर हुन बाँकी छ । चालू आवमै बाँकी रहेका खण्डको टेन्डर आह्वान गरेर निर्माण कार्य अघि बढाउने आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको नौ मिटर चौडाइमध्ये एक मिटर नाली तथा आठ मिटर सडकको चौडाइ कायम गरिएको छ । पश्चिम खण्डमा १८ पक्की पुल निर्माण सम्पन्न भएका छन् । पश्चिम सेक्टर कार्यालयका अनुसार यस खण्डमा हाल २४ निर्माण कम्पनी परिचालित छन् । आव ०६४/६५ देखि शुरु भएको सो आयोजना ०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया