शुक्रबार, चैत १६, २०८०

‘मिर्गौलाले राम्ररी काम गरेन तर सिकिस्त छैन’ :प्रधानमन्त्री ओली

नेपालखोज २०७६ कार्तिक १७ गते ७:२८

१७ कार्तिक,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं।’

मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भयो। ‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर म एकदमै सिकिस्त छैन।’

नियमित डायलाइसिस गर्नुपर्ने भए साताको तीनचोटि गर्नुपर्ने ओलीले जानकारी दिए । आफ्नो मिर्गौलाले राम्ररी काम नगरेको र फोक्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतबारसम्ममा सबै रिपोर्ट आइसक्ने बताए। ‘अहिलेलाई डाक्टरहरूले डायलाइसिस नै गर्नुपर्ने भनेका छन्,’ बैठकमा ओलीले भने। यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया