शुक्रबार, वैशाख १२, २०८२

राष्ट्र बैंकको बोर्ड बैठकमा डेपुटी गभर्नरको बर्खास्ती एजेण्डा 

नेपालखोज २०७६ कार्तिक १७ गते ११:१५

१७ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकको बोर्ड बैठक आज बस्दैछ । बैंठकमा बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने की नगर्ने भन्ने विषयमा छलफल हुने छ ।

गर्भनर कार्यालयका एक अधिकारीका अनुसार आज बस्ने बैठकमा बैंकको मर्जर मुख्य एजेण्डा हो । तर, श्रेष्ठको बर्खास्तीका विषयमा पनि सघन छलफल हुने छ । आजको बैठकमा सबै सञ्चालकहरूको राय लिएर गभर्नरले छानबिन समिति बनाउने तयारी रहेको छ ।

श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बारा नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालक समित बैठक बोलाएका हुन् । श्रेष्ठ नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका थिए ।

त्यसैले पनि श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री डा. युवराज खतिवडा असन्तुष्ट छन् । अर्थ मन्त्रालयबाट राष्ट्र बैंक सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व गर्नुहुने डा. राजन खनालले मन्त्री असन्तुष्ट रहेको खबर पु¥याएको बताईएको छ । यसै खबर पश्चात गर्भनरले तत्काल बोर्ड बैठक बोलाएको बुझिएको छ  ।  स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ ।

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलगायत श्रेष्ठको जिम्मामा छ भने अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नियमनलगायत हेर्दै आएका छन् । ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । सिवाकोटी भने नेकपा लाइनका हुन् । राजनीतिक कोटाकै हिसाबले पनि अहिले श्रेष्ठलाई अप्ठ्यारो देखिएको छ ।

श्रेष्ठलाई बर्खास्त गर्नका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ । सोही विषयमा आईतबारको बैठकमा छलफल हुने छ । तर,  निर्णय भने आजै नहुने स्रोतले बताएको छ ।

यता, डेपुटी गभर्नर श्रेष्ठले भने आफूलाई गभर्नर बन्न निदन चलखेल भएको बताएका छन् । उनले आफूमाथि सुनियोजित तरिकाले षड्यन्त्र भएको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया