शुक्रबार, चैत १६, २०८०

‘शुभलभ’ अब विदेशका हलहरुमा पनि

नेपालखोज २०७६ मंसिर ८ गते ८:३८

८ मंसिर, काठमाडौँ । गत वर्ष चैत १५ गतेदेखि नेपाली चलचित्र हलहरुमा प्रदर्शन भएको चलचित्र ‘शुभलभ’ अब युरोपका विभिन्न देशमा पनि प्रदर्शन गरिने भएको छ ।

निर्देशक सन्तोष लोहनीद्वारा निर्देशित चलचित्र ‘शुभलभ’ प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रभित्रमा भएका हाँस्यव्यग्य प्रहारले दर्शकहरुले भरपुर आनन्द लिन सक्ने छन् ।

नेपाली चलचित्र प्रचारप्रसार र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने उद्देश्यले फिल्म विदेशमा प्रदर्शन गर्न लागिएको निर्देशक लोहनीले बताए ।

हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्मको छायाँङ्कन गरिएकाले यसले पर्यटक तान्ने विश्वास निर्देशक लोहनीको छ ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभलभ’ मा हरिहर अधिकारी र यसै चलचित्रबाट डेब्यु गरेकी नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका रहेको छ ।

धर्मराज सुवेदीले निर्माण गरेको चलचित्र ‘शुभलभ’ मा पुराना कलाकारहरु सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापालगायतको पनि मुख्य भूमि रहेको छ ।

चलचित्र युकेका ६, जर्मनी ३, बेल्जियमका तीन, पोर्चुगलका पाँच, नर्वे, फिनल्यान्ड र स्पेनमा डिसेम्बर, जनवरी र फेब्रुअरीमा प्रदर्शन गरिने छ । युरोपमा फिल्म प्रदर्शनका लागि एनआरएनए लगायत थुप्रै संघसंस्था र त्यहाँ स्थित नेपालीहरूले सहयोग गरेको निर्देशक लोहनीले बताए ।

प्रतिक्रिया