शुक्रबार, चैत १६, २०८०

निर्वाचलाई मितव्ययी बनाउन राज्य व्यवस्था समितिको निर्देशन

नेपालखोज २०७६ मंसिर १० गते १६:२७

१० मंसिर, काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले मंगलबार जानकारी गराएको छ ।

समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।सबै मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचारप्रसारपछिको मौन अवधि विगतमा आलोच्य बनेकाले यस पटक त्यो हुन नदिन आयोगले विशेष ध्यान पु¥याउने बताए ।

उनले भने, “मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी चिन्तन छोड्नुपर्छ, मौन अवधि उपनिर्वाचनको जस्तो होस् भनी सधैँका लागि नमूना प्रस्तुत गर्न पाइयोस्, यसका लागि राजनीतिक दल र उम्मेदवारले कुनै चलखेल नगरी शान्तरुपमा बसेर उदाहरण प्रस्तुत गर्नुपर्छ । मौन अवधिमा आयोगले यस पटक विशेष निगरानी राख्ने छ ।”

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चत भएको बताए ।

सो अवसरमा सांसदहरुले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदानस्थलमै मतगणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुनसक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुनसक्ने अनेकौं आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिए ।

समितिका सभापति श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधैँ सहयोग र समर्थन रहने जानकारी गराउँदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिईन्।

प्रतिक्रिया