शुक्रबार, चैत १६, २०८०

नाफा घट्यो १२ जलविद्युत् कम्पनीको

नेपालखोज २०७६ मंसिर १५ गते ९:५०

१५ मंसिर, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा १२ जलविद्युत् कम्पनीको नाफा घटेको छ । असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका २५ जलविद्युत् कम्पनीमध्ये उक्त संख्याका कम्पनीको नाफा घटेको हो ।
चालू आवको पहिलो त्रैमासमा रैराङ हाइड्रोपावर कम्पनीको नाफा करीब ६ गुणा बढेको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ११ लाख ९० हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ७९ लाख ६८ हजार कमाएको हो । चिलिमे हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी नाफा रू. २१ करोड ७० लाख नाफा कमाएको छ । त्यसपछि सानिमा माई हाइड्रोपावर कम्पनीले रू. २० करोड ३९ लाख नाफा कमाएको छ ।

हालसम्ममा चिलिमे हाइड्रोपावर कम्पनीले साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको मंसिर ११ गते सम्पन्न वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । रिडी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र शूल्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ४ गते साधारणसभा आयोजना गरेको छ । रसुवागढी हाइड्रोपावर कम्पनीले आगामी मंसिर १९ गते साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।

१२ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम

दोस्रो बजारमा सूचीकृत ३२ जलविद्युत् कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल छ । यसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा थोरै प्रतिकित्ता रू. ५० छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयरमूल्य नै न्यून रहँदा पछिल्लो समय प्राथमिक बजारमा जलविद्युत् कम्पनीहरूको आईपीओमा न्यून आवेदन परेको दखिएको छ ।

दोस्रो बजारमै लाभांश खुवाइरहेका कतिपय कम्पनीको शेयर अंकित मूल्यभन्दा कममै खरीद गर्न पाएपछि आईपीओमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । दोस्रो बजारमा भने कतिपय लगानीकर्ताले घटेको बेलामा ठूलो मात्रामा शेयर उठाएर थोरै मूल्य बढेको बेला बेचेर निश्चित प्रतिफल खाने गरेको पाइन्छ ।

प्रतिक्रिया