बिहीबार, वैशाख १३, २०८१

ईपीएस उत्तीर्णलाई चाँडो कोरिया लैजान नेपाल सरकारको आग्रह

नेपालखोज २०७६ मंसिर १५ गते १०:०१

१५ मंसिर, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको भन्दै कम्प्युटर प्रणालीमा आधारित परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ ।

कोरियन मानव संसाधन विकास सेवाका महानिर्देशक किम सुङ जाए नेतृत्वको टोलीले बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई भेटी नक्कली परीक्षार्थीमाथि कडाइ गर्न ध्यानाकर्षण गराएको हो ।

नेपालले भने भाषा परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीलाई यथाशीघ्र लैजान कोरियाली टोलीसमक्ष आग्रह गरेको छ । विभागले नेपालस्थित कोरियन संसाधन कार्यालयसँग समन्वय गरी काठमाडौं र पोखरास्थित स्कुलहरूमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

हरेक वर्ष परीक्षार्थी बढ्दै गएकाले परीक्षाका लागि मात्रै कोरियाबाट धेरै जना आउनुपर्ने अवस्था छ। सन् २०१९ का लागि भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए । त्यसमध्ये भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जना नोभेम्बर २० मा सीप परीक्षामा सहभागी भएका थिए।

प्रतिक्रिया