शनिबार, वैशाख २२, २०८१

सहकारी संस्थाहरु मर्जर प्रकृयामा जाँदै, दायरा बाहिर रहेकालाई कारबाही प्रकृया सुरु

नेपालखोज २०७६ मंसिर १९ गते १३:५४

१९ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गर्ने तयारी गरेको छ । सहकारीको गुणस्तरलाई वृद्धि गर्ने लक्ष्य सहित महानगरले संख्यालाई कम गर्न खोजेको महानगरपालिकाको सहकारी विभागका उपनिर्देशक सुमन अधिकारीले जानकारी दिए ।

उनले भने एकिकरणकालागि आवश्यक कार्या शुरु भैसकेको छ । हामी निरन्तर त्यसमा लागि रहेका छौँ । हाल महानगरभित्र रहेका एक हजार ८ सय ५६ सहकारीलाई गुणत्मक वृद्धि र संख्यात्मक व्यवस्थापन गर्दै ७ सयको संख्यामा झार्ने महानगरको लक्ष्य छ ।

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकरण गर्ने प्रक्रिया थालेको हो ।

विभागका उपनिर्देशक अधिकारीका अनुसार हालसम्म चार सहकारी एक आपसमा गाभिई सकेका छन् । महानगरको वडा नं २४ मा रहेको विराज बचत तथा ऋण सहकारी र वडा १३ मा रहेको सप्तदीय बहुउद्देश्यीय सहकारी एकापसमा एकीकरण भई सप्तदीप बचत तथा ऋण सहकारी संस्थाका रूपमा सञ्चालन भैरहेको छ भने वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारी एकिकृत भई सिटीभिलेज बचत तथा ऋण सहकारी संस्थाका रूपमा सञ्चालन भइरहेको छ ।

महानगरका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट गरिसकेको विभागले जनाएको छ ।

महानगरले सहकारीको अनुगमन कार्यलाई पनि कडाई गरिरहेको छ । अनुगमनका क्रममा पहिलो चरणमा नियम बाहिर रहेर सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइदै छ । विभागका उपनिर्देशक अधिकारीका अनुसार दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइनेछ ।

निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने महानगरको सहकारी विभागले जनाएको छ। सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।

प्रतिक्रिया