शनिबार, वैशाख ८, २०८१

वडाध्यक्षलाईनै बोक्साको आरोपमा जुत्ताको माला लगाउदै मलमुत्र खुवाउने प्रयास

नेपालखोज २०७६ मंसिर २३ गते १४:४२

२३ मंसिर, चितवन । स्थानीयबासीको एक समुहले बोक्साको आरोपमा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

बोक्सोको आरोपमा वडाध्यक्षलाई कुटपिट गर्दै जुत्ताको माला लगाएका उनीहरुले मानव मलमुत्र समेत खुवाउने प्रयास गरेका सञ्चारकर्मीसँग कुरा गर्दै पिडितले बताए । घटना शनिबार साँझको हो । वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएको पिडितले बताए ।

संचारकर्मीसँगको टेलिफोन कुराकानी गर्दै पिडितले आफुलाई उनिहरुले दिसापिसाब पनि खुवाउँछौं भनिरहेका बेला आफुले त्यसको प्रतिकार गर्दै त्यहाँबाट उम्केको बताएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरि छानविन गरिरहेको छ ।

यसैबीच, नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले कडा कारबाहीको माग सहितको संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

यस्तै नेपाल चेपाङ संघका अध्यक्ष भिमबहादुर चेपाङले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया