बिहीबार, चैत १५, २०८०

सागको अन्तिम दिन आज विभिन्न ५ खेल हुँदै, समापन पनि आजै

नेपालखोज २०७६ मंसिर २४ गते ७:१३

२४ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दशौँ अर्थात् अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौंमा ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा नवौं दिनसम्म भारतले १६६ स्वर्णसहित अग्रता बनाएको छ । ४९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

फुटबलः
पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ः०० बजे हुनेछ ।

बास्केटबलः
बास्केटबलको फाइनल खेल मंगलबार हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ः०० बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ः३० बजेसुरु हुनेछ । महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।

बक्सिङः
बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ः०० बजेदेखि सुरु हुनेछ ।

जुडोः
जुडोमा मंगलबार १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ः३५ मा सुरु हुनेछ ।

स्क्वासः
स्क्वासको टिम स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

प्रतिक्रिया