बिहीबार, वैशाख १३, २०८१

नागढुंगा सुरुङमार्ग आयोजना: सुरुङ खन्ने काम चैतपछि मात्रै शुरू

नेपालखोज २०७६ मंसिर २५ गते ७:१८

२५ मंसिर, काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै शुरू हुने भएको छ । ५ दशमलव ७ किलोमीटर (किमी) को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया शुरू भए पनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।

सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनु पर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम शुरू गर्न अझै ३/४ महीना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए । उनका अनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नेपाली सेना र उपकरणहरू नेपाल ल्याउन मास्टर लिस्ट (सुरुङ खन्नका लागि आवश्यक निर्माण सामग्रीको सूची) स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकिएको छ ।

नेपालको पहिलो सडक सुरुङमार्ग हुने दाबी गरिएको यस आयोजनाका लागि जापानी कम्पनी हाज्माआन्दो कर्पाेरेशनले नै निर्माण सामग्री ल्याउनेछ । त्यसका लागि अर्थले भन्सार सहुलियत दिनुपर्ने भएकाले अहिले मास्टर लिस्ट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको आयोजनाले बताएको छ । ‘यी सबै प्रक्रिया पूरा गर्न चैतसम्म लाग्ने र त्यसपछि मात्रै उपकरणहरू उपलब्ध हुने भएकाले सुरुङको काम शुरू गर्न समय लाग्ने भएको हो, तर यसले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न कुनै बाधा पुग्दैन,’ खरेलले भने । यो समाचार आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।

प्रतिक्रिया