शुक्रबार, वैशाख ७, २०८१

सागका विजेतालाई नगर परिक्रमा गराइँदै, सवारी आवागमन प्रभावित नहुने

नेपालखोज २०७६ मंसिर २७ गते १०:००

२७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार (आज) नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार, अहिले बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ । १३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो । विजेता खेलाडीको सम्मानमा नगद पुरस्कार घोषणा गरिसकेको सरकारले आज नागरिक अभिनन्दनसमेत गर्न लागेको हो ।

सवारी आवागमन प्रभावित नहुने
उपत्यका निस्किने विभिन्न जुलुस र प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् । तर खेलाडीलाई गराउन लागिएको नागरिक अभिनन्दनका क्रममा उपत्यकाको सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सवारी आवागमन सहज पार्न सडकमा राखिएका डिभाइर हटाइसकिएको छ । सडकको साइडबाट खेलाडीलाई नगर परिक्रमा गराउने कार्यक्रम राखिएकाले सवारी आवागमनमा कुनै असर पर्ने छैन ।

प्रतिक्रिया