शुक्रबार, वैशाख १४, २०८१

यसरी भएकाे थियाे विशाल बजारमा १० कराेडकाे भ्रष्टाचार

नेपालखोज २०७६ पुष १ गते ८:१०

१ पुस, काठमाडौँ । विशेष अदालतले न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र बिल बिनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरूलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ ।

विशाल बजार कम्पनीका सञ्चालकहरू आफैंले सस्तोमा पसल भाडामा लिएर महँगोमा दिई बिचौलियाको काम गरेको भेटिएको थियो । ५ सय प्रतिवर्गफिट पर्ने सटर ३६ रुपैयाँमा भाडामा दिएर कम्पनीका सञ्चालकले आफैंले सटर लिएको भेटियो । उनीहरूले नाम मात्रैको भाडा तिरेर अरू व्यापारीलाई महँगोमा भाडा लगाई भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

विशाल बजार कम्पनीले भुइँतलाका लागि प्रतिवर्गफिट ६४ रुपैयाँ ७२ पैसामा भाडामा दिएको थियो । पहिलो तलामा ३६ रुपैयाँ, दोस्रोमा २६, तेस्रोमा २५ रुपैयाँ कायम गरिएको छ । मूल भवनको दक्षिणपट्टिको टहरामा ८० देखि १२४ रुपैयाँसम्म भाडामा दिएको भेटियो ।

छानबिनका क्रममा बजारदर विश्लेषण हुँदा, कमर्ज एन्ड ट्रस्ट बैंकले १ सय ७५ रुपैयाँ प्रतिवर्गफिटका दरले भाडा तिरेको थियो । साझा पसल सेवाले ३ सय ४० देखि ४ सय ११ लिएको छ । यसैगरी टेन्डरबाटै भाडा दिइएको ठाउँमा १ सय १५ रुपैयाँभन्दा बढी तिरेको भेटियो । विशाल बजारको पहिलो तलामा मात्रै १८ हजार ३ सय वर्गफिट छ । प्रतिवर्गफिट सय रुपैयाँका दरले चलखेल गर्दा मात्रै एक तलामा २० लाख रुपैयाँ फेरबदल हुन्छ । मुलुककै पुरानो व्यापारिक भवन मानिने विशाल बजारमा भुइँबाहेक तीन तला छन् भने दक्षिणपट्टि सानो दुईतले भवन छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया