शुक्रबार, वैशाख ७, २०८१

थप चुनौतिपूर्ण बन्दै काठमाडौँको फोहर व्यवस्थापन

नेपालखोज २०७६ पुष ३ गते १७:५२

३ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ । फोहर व्यवस्थापन कार्यमा सहयोग गर्दै आएको लगानी बोर्ड पनि पछि हटेकाले अहिले सिसडोलमा फोहर व्यवस्थापनको क्षमता सकिएको र बञ्चरेडाँडामा ल्याण्डफिल्डसाइटको पूर्वाधार तयार भइनसकेकाले महानगरका लागि चुनौती भएको हो ।

निजी क्षेत्रमार्फत गर्ने भनिएको फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको नै हो भन्दै बोर्ड पन्छिएको हो । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी लगानी बोर्डकै सक्रियतामा दुई वर्षअघि एक कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको दुई वर्षपछि फोहर व्यवस्थापन स्थानीय सरकारकै जिम्मेवारीमा पर्ने भन्दै लगानी बोर्डले यससम्बन्धी फाइल फिर्ता गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनमा बाधा पु¥याउने व्यक्ति, संस्था, समुदाय तथा संरचना पत्ता लगाउन सम्बन्धित विभागलाई निर्देशन दिएका छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउनेसम्बन्धी फाइल लगानी बोर्डबाट फिर्ता आएकाले पनि अब कामपाले प्रचलित र प्रयोगसिद्ध प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न आवश्यक भएको बताउछन् ।

लगानी बोर्डले फाइल फिर्ता पठाएपछि के गर्ने भन्ने विषयमा छलफल भइनसकेको बताउँदै यस विषयमा चाँडै छलफल गरी निष्कर्ष निकाल्ने तयारीमा महानगर रहेको श्रेष्ठले जानकारी दिए। कामपा यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यले अत्यावश्यक सेवा व्यवस्थापन गर्न कानूनी प्रबन्ध र ती प्रबन्ध सञ्चालन गर्ने प्रशासनिक व्यवस्था हुनुपर्ने खाँचो रहेको बताउछन्।

महानगरको वातावरण व्यवस्थापन विभाग मातहतमा अहिले सफाइमा खटिने कर्मचारीको सङ्ख्या ४९३ छ । महानगरलाई भौगोलिक क्षेत्रका आधारमा ८६ वटा रुट बनाएर सरसफाइ गर्ने गरिएको छ । यस क्रममा कामपामा ११० वटा सवारी तथा उपकरण प्रयोग हुन्छन् । यीमध्ये २० वटा ठूला सवारीलाई ट्रान्सफर स्टेशनबाट ल्याण्डफिल्डसाइट पठाउने गरिएको छ ।

काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहले फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । बढ्दो शहरीकरणसँगै उपत्यकामा उत्पादन हुने फोहरको परिमाण बढिरहेको छ । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिलसाइट निर्माण शुरु गरेको छ ।

प्रतिक्रिया