बिहीबार, साउन २१, २०७८

राष्ट्रवाद र राष्ट्रियताको चर्चा : महेन्द्र माटो भन्थे, नेताहरु मनी भन्छन्

नेपालखोज २०७६ पुष ५ गते १०:३०

म मरे पनि मेरो देश बाँचिरहोस्, ०४६ सालपछि कुन नेताले यसो भने । पञ्चायत गयो तर पञ्चायतमा जति पनि नैतिकता नेताहरुमा देखिएन । नेताले पैसा पैसा भनेर पद र पैसाका पछि दगुर्दा देश कंगाल बन्यो, नेता धनी भए । देशको छानो बालेर खरानी बेच्ने नेताहरुले गर्दा स्वर्गको टुक्राजस्तो देश नर्क बन्नपुगेको छ ।

२०१७ साल पुस १ गते प्रधानमन्त्री वीपी कोइरालालाई बर्खास्त गरे, मन्त्रिमण्डललाई जेल हाले । वीपी कोइराला ८ वर्ष थुनिए, ८ वर्ष भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । राजनीतिक जीवनमा यो कम दुःख, पीडा र आक्राशपूर्ण कालखण्ड थिएन । मारिने जोखिम उठाएर २०३३ सालमा नेपाल फर्किएका वीपी कोइरालाले २०३७ सालको जनमत संग्रहमा सुधारसहितको पञ्चायतले जितेकोमा बहुदलवादीहरुले देशैभरि आगजनी, आन्दोलन चर्काउँद उनले साथ दिएनन्, जनताको मतको कदर गरे, निर्वाचन परिणामको स्वागत गरेर वक्तव्य नै प्रकाशित गरेका थिए ।

वीपी कोइरालाले आफ्नो अन्तिम सन्देश यसरी लेखेका थिए– ‘राजतन्त्रसँग हाम्रो झगडा छ भनेर राजतन्त्रलाई फालिहाल्ने उद्यम हामीले गर्नुहुँदैन ।

जो जतिसुकै राजतन्त्रको विरोधी होस्, महेन्द्रलाई सत्तोसराप गरुन्, तर राजा महेन्द्र राष्ट्रियताका अचम्मका अभियन्ता र गजबका शिल्पी थिए भन्ने कुरा मान्छन् । पुस १ को बिरोध र समर्थनलाई मथ्दा निस्कने परिणाम यही हो ।
६० वर्ष अघिको घटनालाई त्यतिबेलाको सामाजिक नजरले मूल्यांकन गर्नुपर्छ । परिस्थितिजन्य बाध्यता थियो कि महत्वाकांक्षाको कारण त्यो घटना हुनपुग्यो, इतिहासकारहरुले मूल्यांकन गरेका छन् । ठिक बेठिक जे होस्, त्यसपछि राजा महेन्द्रले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमान बढाएकै हुन् । राजा महेन्द्रको स्तुती गाउनुपर्दैन, न त आरती नै उतार्नुपर्छ । उनको सम्झना विकासका पूर्वाधारमा गर्न सकिन्छ, नेपाली अर्थतन्त्र र सामाजिक जीवनमा देखिएको नेपालीत्वमा देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट गुञ्जिएको म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने नेपाली साहित्यको मुटुको आवाजमा सुन्न सकिन्छ ।

आज कालापानी, लिपुलेक, लिम्पियाधुरादेखि ७७ स्थानमा ६० हजार हेक्टरभन्दा धेरै बढी नेपाली भूमि मिचिएको छ, सीमा सुरक्षा गर्न नसकिरहेको, सीमा सुरक्षामा राष्ट्रिय जागरण अभियान चलाउन नसकिरहेको स्थितिमा ‘म¥यो ज्यूँदै त्यो जसले बिस्र्यो देशको माटो’, योभन्दा बढी राजा महेन्द्रको सम्झना के हुनसक्छ ।

राजतन्त्र छैन । राजतन्त्रलाई किनारा लगाउने जनयुद्ध र जनआन्दोलनका सामु राजतन्त्र निहु¥यो । निहुरेको राजतन्त्रलाई सहमतिविपरित राजतन्त्रको खुकुरीले बली चढाएकै हो । लोकतान्त्रिक गणतन्त्र आयो । गणतान्त्रिकहरु लोकतन्त्रको फ्याली पिटिरहेका छन् । लोकतन्त्रको झ्याली लाखेनाच बनेको छ, बेमौसम, बेपर्वको लाखेनाचले जनता र देशलाई सकस भइरहेछ, लोकतन्त्रे नेता, कार्यकर्ता, अनियमितता गर्न पाएकाहरु बौलाह नाचेझैं उफ्रिरहेका छन् । लोकतन्त्रमा लोकगीत छैन, लोकसंगीत छैन, लोकमनोरञ्जन छैन ।

यो कस्तो लोकतन्त्र हो ? जसले २०१७ साल पुस १ गतेको कालोदिनको आलोचना गरिरहेको छ । शुभदिन, शुभरात्रि ल्याउन नसक्नेहरुले ६० वर्षपछि २०१७ सालको भन्दा कहालीलाग्दो कालोदिन देखाइरहेका छन् । त्यो कालो दिन, यो त भयभित पार्ने कालोदिन ।

आज उज्यालो हुनुपर्ने हो । विहानी अँध्यारै छ । दिन अँध्यारै छ । वर्तमानको अँध्यारोले भविष्यसमेत अन्धकार हुनपुगेको छ । शासनमा सूर्य छ, घामको मुख देखिएन । देशमा संविधान छ, बिधिको शासन छैन, लोकतान्त्रिक गणतन्त्र सक्रिय छ, नेता र तिनका आउरेबाउरेको गञ्जागोल बढ्दो छ र लोकतन्त्रको अनुभूति लोकले गर्नै पाएका छैनन् ।
यो झन कालो दिन नभए के हो ?

महेन्द्रले कू गरे । प्रजातन्त्रको हरण गरे । त्यो समय २०१७ साल थियो, कू गर्दा जनताले जयजयकार गरे । पार्टीवालाहरुले महेन्द्रसँग मुकाविला गर्ने नैतिक ताकत थिएन, भूमिगत भए, निर्वाशनमा गए । जो बसे, पञ्चायतलाई सघाएर बसे, स्वाद फेरेर बसे ।

३० वर्षपछि पञ्चायत गयो । सुशासन आएन त । कांग्रेसले सुनको थालीमा राखेर राजालाई शासन सुम्पेकै हो । राजाले ३ वर्षमा चुनाव गराएर सत्ता निर्वाचित प्रतिनिधिलाई बुझाउँछु भन्दा पाएनन् । दिल्लीमा सम्झौता गरेर आएका माओवादी र पार्टीहरुले मिलेर १९ दिने जनआन्दोलन गरे, राजाको शासन पल्टियो । राजाले बकसमा दिएको मरेको सांसद पदमा पुगेकाहरुले माकुराले आमाबाउ खाएझैं राजतन्त्र खाए, सिध्याए । जे भयो राम्रै भयो होला । समयले कोल्टो फे¥यो । गणतन्त्र आयो ।

आन्दोलनरुपी वर्षा थामियो । अव त नेपाल उज्यालिनेभो भन्ने सबैको विश्वास थियो । तर, २०६३ साल वैशाख ११ गतेको सत्ता परिवर्तन, २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयनपछि दिन उघ्रिएन, रात झन छिप्पियो । विहान भएको हो, अँध्यारो हटेन । आकास उही, नेपाल उही, धर्ती उही, सत्तामात्र परिवर्तन । व्यक्ति फेरिए व्यवहार फेरिएन । दिन न रात, झन कालाम्मे हुँदै गएको छ ।

नेपालीलाई लाग्यो, निरंकूशता गयो, सुदिन आयो । मनमा लागेर, विश्वास गरेर के गर्नु, बेमानीले धोका दिएर गैगयो भन्ने गीत बन्यो राजनीति । ठूला नेता र तिनका वरिपरिका केहीलाई गणतन्त्र स्वर्गानुभूति बन्यो, बाँकी आमनेपालीका लागि कहालीलाग्दो कृष्णभीर बनेको छ । निरन्तर पहिरो गइरहेको छ, आमनागरिक राज्यपहिरो, विदेशी कहरले थिच्ने क्रम व्यापक बनेको छ । देश र आम जनताको हुटहुटी र छटपटी तावामा तातेको माछा उफ्रेर भुङ्ग्रोमा परेजस्तो भएको छ ।
यो झन कालो नभए के हो ?

हो, २०१७ सालका शासक बर्गका लागि त्यो कू नै हो । त्यस्ता अधिनायकवादीलाई केको सम्झना गर्ने । सक्ने भए तीनपटक सत्तामा पुगेका माओवादीले त्रिभुवन विश्वविद्यालयको नाम फेर्थे, आफ्नै आमाबाबु र भाइबहिनीको नाम राजारानीका नामसँग मिलेकोमा फेर्थे । राजाहरुले बनाएका राजमार्ग, एकेडेमी, सम्मेलन केन्द्रहरुको नाम फेरेजस्तो, उद्योगहरु कौडीका मूल्यमा बेचेर कमिशन खाएजस्तो कहाँ सजिलो थियो र ? वडामहाराजाधिराजले नेपाल निर्माण गरे, राजा महेन्द्रले नेपालीत्वको जग हाले, राजा वीरेन्द्रले विकासको गति बढाए । त्यही मैदानमा गणतन्त्रको परेड खेल्न पाएकाहरु किन हेर्दैनन्– सुनाखरी गएपछि सिक्किममा गणतन्त्र छ, चीन नै हो, समाजवाद त तिब्बतमा पनि छ । नेपालजस्तो स्वतन्त्र, सार्वभौम, सुन्दर देश विश्वमा कहीँ पनि छैन । यो गर्वलाई ज्यूँका त्यूँ राख्ने सोच, इच्छाशक्ति, आत्मबल गणतन्त्रका कुन कुन लाउकेहरुसँग छ ?

राजाहरुलाई गाली गरेर मात्र के गर्नु ? देश बचाउने र बनाउने बहादुर कोही छन् ?छैन भने यो झन कालो नभए के हो ?
पुस १ गते कालो दिन हो । सेतो उज्याल्यो दिन कुन हो ? राजा महेन्द्रले दुस्साहस नै गरेछन् ।

जका शासकहरु देशका लागि कुन साहस देखाइरहेका छन् । देश बनाउने बिद्रोह, बिद्रोहपछिको कारिगरी, अधिनायकवादबाट स्वतन्त्रता बचाउने साहस कतिजनासँग छ ? भए कालोदिनका विरुद्ध उज्यालो दियो बाल्ने ताकत, अक्किल र जाँगर किन देखिदैन ?

सेनाको आडमा राजा महेन्द्रले कू गरेका हुन् । बहुदल फालेकै हुन् । यसमा शंका छैन । राजा महेन्द्रले सत्ता हातमा लिएर सम्पत्ति कमाएनन् । राजाका जे सम्पत्ति थिए, ती सबै यतिबेला राष्ट्रियकरण भएका छन् । २ वर्ष गुजारिसकेको ५ वर्षे सरकारले ६ वर्ष म्याद बाँकी छँदैको गोकर्ण सफारी पार्कलाई कौडीका मूल्यमा अर्को ५० वर्षका लागि लिजमा दिनु सुदिन हो ? निर्मला हत्यादेखि वाइडबडी घोटालासम्म, बालुवाटारको जग्गादेखि एनसेललाई ६२ अर्व तिर्न पर्दैन भनेर फैसला गर्नु कस्तो लोकतान्त्रिक पद्धति हो ? प्रजातन्त्र अपहरण भएछ त्यतिबेला, लोकाधिकार, देशाधिकार अपहरण, अतिक्रमण गर्न दिन र छेकबार गर्न देशको सार्वभौमिकताका लागि पहाड भएर उभिन नसक्ने परालखुट्टेहरुले राजाहरुलाई गाली गर्ने नैतिक अधिकार राख्छन् ?

नेपालको इतिहास भनेकै राजाहरुले बनाएको देश हो । देश कसरी जोगिएको थियो, कसकसले जोगायो ? देश प्रेम के हो ? नागरिक एकता कस्तो हुनुपर्छ ? पूर्वधार बिकास र मित्रराष्ट्रहरुसँग सम्बन्धको महत्व केकस्तो हुनुपर्छ ? यी सवालहरुको जवाफ दिने हो भने विदेशभक्त अनि लेण्डुप चरित्रहरुलाई देशभक्ति, स्वाधीनता र सार्वभौमिकता मन नपर्नुमा आश्चर्य नमाने हुन्छ ।

किनकि सर्वेसर्वा भएको बेलामा पनि कालोदिन हटाउन उज्यालो दिन ल्याउन नसक्नु भनेको कायरा राजनीति हो, कायरहरु पल पल मरिरहेका छन् । कायरता कडा रोग हो, जसले देशलाई पलपल मारिरहेको छ ।
डा.भेषबहादुर थापा भन्छन्– राजा महेन्द्रको समर्थनमा कीर्तिनिधि विष्टले भारतीय चेकपोष्ट हटाएका हुन् । सबै हटे, कालापानीबाट हटेनन्, धेरै दबाब नदिउँसम्म भनेका हुन् राजा महेन्द्रले । भूमि त नेपालकै रहेछ नि । २ बोरा सुन लिएर कालापानी भारतलाई महेन्द्रले उतिबेलै बेचिसके भन्ने वर्तमान परराष्ट्रका प्रशासक र कालापानी भारतलाई दिएका हुन् भन्ने परराष्ट्रमन्त्रीको नाम पनि महेन्द्र बहादुर पाण्डे नै थियो । सत्य भए प्रमाण देखाउन र गलत बोलेको भए तिनको जिब्रो थुत्न पनि सक्दैन नेपाल सरकार । भारतले दावी गरेका क्षेत्र नेपाल हो भनेर भएका प्रमाण देखाउन पनि नसक्ने र अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन सक्रियता नदेखाउने वर्तमान नेकपा र नेकपा नेतृत्वको सरकार मजाले निदाएको बहाना गरेर आँखा चिम्लिरहेको छ ।

अहिलेलाई राजतन्त्र इतिहास हो । राजा आउ देश बचाउ जनआवाज हो । देशमा अराजकता, अस्थिरता, अनियमितता बढ्नु, बिधिलाई ब्याधि बनाएर सर्वत्र राजनीतिकरण गर्नु, लोकतन्त्रको असफलता हो । अझै अवसर छ, समृद्धि र सुशासन देखाउन ।

महेन्द्रलाई अधिनायकवादी भन्नेहरुले लोकनायक, विधिनायक, लोकतन्त्रका गरिमा र महिमानायक बन्ने कि नबने ? अन्यथा कालोदिन, अझ कालोदिन हुनेछ ।

प्रतिक्रिया