बिहीबार, वैशाख १३, २०८१

नेकपा स्थायी कमिटी बैठक बस्दै, विधान संशोधन प्रस्ताव पारित गरिने

नेपालखोज २०७६ पुष ६ गते १०:३७

६ पुष, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज आइतबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ ।

राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज आइतबार पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गत आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा नेताहरुले आफ्ना सुझावहरु राखेका थिए ।

हिजो (शनिबार) को बैठकमा नेताहरुले अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाका विषयमा प्रश्न राखेका थिए । एमसीसी अमेरिकी इन्डोप्यासिफिक रणनीतिकै अंग हो वा होइन भन्नेबारे स्थायी कमिटीमा शुरुदेखि नै कुरा उठ्दै आएको छ । यसबारे अध्यक्ष प्रचण्डले अमेरिकासँग बुझेर स्पष्ट पारिने बताएका छन् ।

यसैबीच, हिजो (आइतबार) को बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ । बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव हिजै पारित भए पनि आजमात्रै घोषणा गरिने भएको छ । त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २० गतेका लागि बोलाएको छ ।

प्रतिक्रिया