बिहीबार, वैशाख १३, २०८१

बालबालिका क्षेत्रको समस्या व्यवस्थापन माथि केन्द्रित बाल कचहरी सम्पन्न

नेपालखोज २०७६ पुष ७ गते १९:०९

७ पुस, कैलाली लम्की । कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबार बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकारको सम्बर्द्धन : नेपालमा बाल विवाहको अन्त्य विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , बाल अधिकारकर्मी, शिक्षक , बालबालिका तथा सरोकारवालाहरु सबै एकै मञ्चम उभिएर बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बर्दगोरिया गाउँपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बालबालिकाका क्षेत्रमा देखिएका समस्याको समग्र व्यवस्थापनका विषय माथि छलफल भएको थियो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भेक्कुराम चौधरी , वडा नम्बर ४ का अध्यक्ष पुरन सिंह बिसी, स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशी , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारी , सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेम चौधरी , श्रोत व्यक्ति निरिकनन्द लालकर्ण, महुन्याल मावि बास्कोटीका प्रधानाध्यापक चन्द्रीका जोशी, कोशेली एफएम बौनियाका स्टेसन मेनेजर लिलाजंग शाही, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी सहायक निरीक्षक भरत बहादुर अधिकारी, विभिन्न्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार , बाल विवाह , बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिएका थिए । कार्यक्रममा बर्दगोरिया गाउँपालिकालाई बाल विवाह मुक्त गाउँपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने , बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने, बाल अधिकारको सुनिश्चितताका लागि लाग्ने लगायतका बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन ।

गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकाश परेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैनाले गरेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला तथा बालबालिका गरि करिब एक सय जना बढीको सहभागिता रहेको थियो ।                    — रंगप्रसाद तिमिल्सैना

प्रतिक्रिया