बिहीबार दुई घन्टा ४९ मिनेट सूर्यग्रहण लाग्दै, महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने
८ पुष, काठमाडौँ । आगामी बिहिबार (पुस १० गते) औँशीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट ग्रहण शुरु हुनेछ । बिहान ८ बजेर ४२ मिनेटमा सुरु हुने ग्रहण १० बजेर १ मिनेटसम्म मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ ।
पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ । सूर्यग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने गौतमले बताए । यस अघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने कुनै निर्णय भएको छैन् । पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ ।
यो सघन छाँया र विरल छाँया गरी दुई खालको हुन्छ । सघन छाँया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ । विरल छाँया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात खण्डग्रास देखिन्छ । सूर्यग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन् । विज्ञका अनुसार नांगो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ ।
प्रतिक्रिया