शुक्रबार, वैशाख १४, २०८१

घुम्ने होइन त भकुण्डे ? सुन्दर भकुण्डेका तस्विरहरु !

नेपालखोज २०७६ पुष ९ गते १५:०८

९ पुस, बाग्लुङ । बागलुङ घुम्न चाहनेलाई उपयुक्त गन्तव्य स्थल हो, भकुण्डे । तपाईं पनि योजना बनाइहाल्नुस् । भकुण्डे नपुगे बागलुङ घुमघाम अपुरो हुन सक्छ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो । यसको चिनारीमा घरवास( होमस्टे)समेत थपिएको छ । बागलुङ नगरपालिका–१० स्थित सो गाउँ अहिले पर्यटकको रोजाइमा छ । गएको कात्तिकमा विश्व भेगन समूहमा आबद्ध युरोप र अमेरिकाका पर्यटकले भकुण्डेलाई रोजे, घरवासमा रात बिताए । त्यसयता चिनियाँ पर्यटकले हेलिकप्टर नै लिएर त्यहाँ पुगे ।

कोरियाका विद्यार्थी/पर्यटकसमेत बेलाबेला भकुण्डे पुग्छन् । आन्तरिक पर्यटक त जाने नै भए । खुलेको मौसममा त्यहाँ पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । दन्तेलहरझैँ देखिने हिमालले यात्राको थकान र तनाव बिर्साउँछ । ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहनले उसैगरी लोभ्याउँछ । बागलुङ सदरमुकामदेखि १० किमि कच्ची सडकको यात्रामा भकुण्डे पुगिन्छ । पैदल हिँडे जम्मा दुई घण्टा । शहरको कोलाहल र प्रदूषण पन्छाएर छिन भरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा देख्न    पाइन्छ । सूर्योदय र सूर्यास्तको छेकोमा त झन हिमाली दृश्य मनमोहक लाग्छ ।

भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । गाउँको सिरान मुलाबारीमा बनेको ‘भ्यूटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ । गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापूछ्रे, मनास्लुलगायतका हिमाल आँखैअघि ठोक्किन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्त याम हो ।

सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्यूटावर’ पुग्छन् । दुई हजार ३०० मिटर उचाइमा अवस्थित ‘भ्यूटावर’ पुग्न गाउँदेखि पैदल २० मिनेट लाग्छ । हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटकले भकुण्डेलाई रोज्छन् । भकुण्डे हुँदै छिमेकका पर्यटकीयस्थल भैरवस्थान मन्दिर र गाजाको दह पुग्न सकिन्छ ।

सरकारले भकुण्डे–भैरवस्थान–गाजाको दह समेटेर पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको छ । भैरवस्थान बानपा–१२ र गाजाको दह जैमिनी नगरपालिका–३ मा पर्छ । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरवास (होमस्टे) चल्यो, नयाँ गन्तव्य भेटिए, प्रचारप्रसार भयो, विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँका रुपमा फेरियो ।

“पर्यटक आउने क्रम बढ्दो छ, भ्रमण वर्षमा अझ थपिने अपेक्षा छ”, घरवास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले भने । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल नौ घरमा मात्र रहेको घरवास कार्यक्रमलाई थप विस्तार गर्ने योजना छ । दैनिक सय जना पर्यटक राख्ने क्षमता भकुण्डेको ‘अतिथि सत्कार घरवास’ सँग छ ।

शुक्रबारदेखि शुरु हुने बागलुङ महोत्सवमा समेत उक्त घरवासको छुट्टै ‘स्टल’ राख्ने तयारी छ । घरवाससँगै ‘भ्यूटावर’, बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदि भकुण्डेका पर्यटकीय आकर्षण हुन् । दिनभर गन्तव्यस्थल घुमेपछि घरवासमा रात बिताउनु पर्यटकका लागि आनन्ददायक हुन्छ ।

मुख्य याममा त भकुण्डेमा पर्यटकको चहलपहल नै देखिन्छ । “धेरैजसो नेपाली पाहुना नै हुन्छन्, पछिल्लो समय विदेशी पर्यटक पनि आउन थालेका छन्”, घरवास सञ्चालक इन्द्रा थापामगरले भने । पर्यटकलाई आकर्षित गर्नका लागि विसं २०६८ मा घरवास कार्यक्रम शुरु गरिएको थियो । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्न पर्यटकले घरवास रोज्छन् ।

पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराइने सञ्चालक थापामगरको भनाइ छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ ।

पाहुनालाई स्थानीय खानाको स्वादसँगै मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरवासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढाइएको छ । ‘भ्यूटावर’ को सम्भारका साथै पदमार्ग निर्माणका लागि वडाको रु पाँच लाख बजेट छ ।

“भ्यूटावरमा सानो भवन बनाउने योजना छ, अवलोकन गर्ने ठाउँमा सिसा लगाउँदैछौँ”, वडाध्यक्ष प्रेमबहादुर थापाले भने । गाउँको सिरानदेखि ‘भ्यूटावर’ जोड्ने पदमार्गको बाँकी काम यही वर्ष पूरा हुने उनको भनाइ छ । घरवासको क्षमता विकासका लागि प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

बराहताल र रिठेखोलाबाट घरवाससम्म पदमार्ग निर्माणको कामलाई पनि अघि बढाइने वडाले जनाएको छ । बागलुङ नगरपालिका, जेसीज, उद्योग वाणिज्य सङ्घलगायतले भकुण्डेको पर्यटन प्रवद्र्धनमा सघाएका छन् । – रामबहादुर थापा

प्रतिक्रिया