शनिबार, वैशाख १५, २०८१

पक्राउ परेकालाई स्वदेश लैजान चीनले दुई विमान पठाउँदै

नेपालखोज २०७६ पुष १२ गते ८:१५
१२ पुष, काठमाडौँ । चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान आगामी साता दुईवटा विमान पठाउने भएको छ । नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमबार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ ।
नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ । एक–दुई दिनभित्रै उनीहरूलाई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत उनीहरूलाई चिनियाँ अधिकारीसमक्ष बुझाउन लागिएको छ ।
अपराधमा संलग्न विदेशीलाई गृह मन्त्रालयले यसैगरी सम्बन्धित देशलाई बुझाउने र अपराध गरेर विभिन्न देशमा भागेका नेपालीलाई पनि यही प्रक्रियामार्फत नेपाल ल्याउने गरिएको छ । सोमबार पक्राउ परेका आठ महिलासहित एक सय २२ चिनियाँलाई विभिन्न प्रहरी कार्यालयमा थुनामा राखेर बयान लिने काम भइरहेको छ ।

 

प्रतिक्रिया