शुक्रबार, वैशाख १४, २०८१

बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले पुनः ताकेता ग¥यो

नेपालखोज २०७६ पुष १५ गते ९:५९

१५ पुस, काठमाडौं । सेवा शुल्कबापत तिर्नुपर्ने रकम चुक्ता गर्न ६ दर्जन बढी वायु सेवा, फर्म र कम्पनीहरूले आनाकानी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः ताकेता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगवापत ७४ वायु सेवा, फर्म र कम्पनीले ८३ करोड ७७ लाख ८ हजार ४८ रुपैयाँ तिर्न अटेरी गरेपछि प्राधिकरणले ३० दिने सूचना जारी गरी बक्यौता चुक्ता गर्न भनेको छ ।

रकम भुक्तानीका लागि उड्डयन कार्यालयले यसअघि गत असोज ७ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचना जारीपछि केहीले बक्यौता रकम भुक्तानी गरे पनि ७४ वटाले दायित्व पूरा नगरेपछि कार्यालयले ३० दिनको म्याद दिएर रकम उठाउन अग्रसरता लिएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, तोकिएको समयभित्र रकम नतिरेमा नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ (संशोधनसहित) तथा अन्य प्रचलित कानूनअनुसार असुल प्रक्रिया अघि बढाउने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणले वायुसेवा कम्पनीहरुबाट जहाज अवतरण, पार्किङ, एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायता सेवा), विमानस्थल विकास शुल्क, घरभाडा लगायतका शीर्षकमा रकम असुलउपर गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ ।

यस्तो शुल्क यात्रुले टिकट किन्नासाथ वायुसेवा कम्पनीको खातामा जान्छ । प्रतिटिकट एक हजार रुपैयाँ वायुसेवा कम्पनीले हरेक महिनाको अन्तिममा प्राधिकरणमा बुझाउनुपर्ने प्रावधान छ । तर, अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले यात्रुबाट पैसा उठाएर सरकारलाई भने नतिरी बस्ने गरेका छन् । बक्यौता चुक्ता नगर्नेहरुमा एयर एसिया, जेट एयरलगायत छन् जसले टाट पल्टिएको भन्दै नेपालमा सेवा नै बन्द गरिसकेका छन् ।

प्रतिक्रिया