शुक्रबार, वैशाख ७, २०८१

प्रेस स्वतन्त्रता सेनानी प्रधानको निधनले पत्रकार महासङ्घ र प्रेस युनियन स्तब्ध

नेपालखोज २०७६ पुष १७ गते १४:०२

१७ पुस, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा विहिबार बिहान ५२ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती र छोरी हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई महासङ्घले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।

प्रेस युनियन स्तब्ध

नेपाल प्रेस युनियनले राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी याम प्रधानको निधनमा दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन्। “ हाम्रो संस्थाका पूर्व उपाध्यक्ष प्रधानको निधनमा प्रेस युनियन स्तब्ध भएको छ”, विज्ञप्तिमा भनिएको छ । युनियनले अग्रज पत्रकार प्रधानप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व सभापतिसमेत रहेका स्वर्गीय प्रधानले सञ्चार क्षेत्रको माध्यामबाट पूर्व क्षेत्रलाई चिनाउन महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतिक्रिया