सोमबार, भदौ ३१, २०८१

नेविसङ्घभित्र रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी

नेपालखोज २०७६ माघ ८ गते १०:४६

८  माघ, काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ ।

नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वा्चित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसङ्घभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो ।

विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ । नेविसङ्घभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले विधान कार्यान्वयमा पार्टी गम्भीर बन्नुपर्ने बताए । “नेविसङ्घको बैठकबाट पास गरेर पार्टीलाई पेश गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पास गरेको अवस्थामा विधान लागू गर्दिन भन्नु पार्टी नेतृत्वको कमजोरी हो”, भने ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ ।

नेपाली काँग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२ औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।

प्रतिक्रिया