शुक्रबार, चैत १६, २०८०

तनहुँमा सिद्धगुफाबाट भ्रमण वर्षको शुरुआत

नेपालखोज २०७६ माघ ९ गते ८:२१

९ माघ, तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार भ्रमण वर्षको शुरुआत गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताए ।

उनले भने, “भ्रमण वर्षको सन्दर्भमा सिद्धगुफा विकास समितिले राखेको कार्यक्रम राम्रो छ । सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्ने हो भने सरकारको अभियान सफल हुन्छ ।” भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रवद्र्धनमा नगरपालिका जुटेको बताए ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सक्दछन् । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने सो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

प्रतिक्रिया